प्रदेश-२ मा छ महिनामा ३ सय ९१ अपराधिक घटना

जनकपुरधाम । गत ६ महिनाको अवधिमा राज्य र गैर राज्य पक्षबाट प्रदेश–२ मा ३ सय ९ वटा अपराधिक घटना भएका छन् । अनौपचारिक सेवा केन्द्र (इन्सेक) का अनुसार, जनवरी २०२१ देखि जुन २०२१ सम्म राज्य पक्षबाट ५९ र गैरराज्य पक्षबाट ३ सय ३२ वटा अपराधिक घटना घटेको हो ।

जसमा गैरराज्य पक्षबाट १२ अपहरण, राज्य पक्षबाट ४ पक्राउ, कुटपिट राज्य पक्षबाट ४ र गैरराज्य पक्षबाट २७ गरी ३१ वटा, बालबालिका अधिकारको उल्लंघन गैरराज्य पक्षबाट ९५ वटा घटना भएको हो ।

इन्सेकका प्रदेश प्रमुख राजु पासवानका अनुसार, अमानवीय दुव्र्यवहार राज्य पक्षबाट ७, गैरराज्य पक्षबाट ४ गरी ११ वटा, घाइते राज्य पक्षबाट ३, गैरराज्य पक्षबाट १९ गरी २२ वटा, हत्या गैरराज्य पक्षबाट महिला र पुरुष गरी ४५ र विरोध प्रदर्शनमा राज्यपक्षको दमनमा ४० जना घाइते भए ।

त्यस्तै गैरराज्य पक्षबाट ३ वटा धाकधम्कीका घटना भए । थुनामा यातना राज्यपक्षबाट एक र महिला अधिकार उल्लंघनका १ सय २५ वटा गैरराज्य पक्षबाट भएको तथ्यांकमा उल्लेख छ ।

बालबालिका तथा महिला हिंसाका घटनामा बढी देखिएको प्रमुख पासवानले जानकारी दिए । बालबालिकातर्फ सबभन्दा बढी बलात्कारको घटना भएका छन् । गत ६ महिनाको अवधिमा १ सय १५ वटा बलात्कार घटनामा ६१ वटा बालबालिका तथा ५४ वटा महिला शिकार भए ।

उक्त तथ्यांक अनुसार, बालविवाह ५, बालबालिका बेचबिखन ३, बालबालिकाको यौन दुव्र्यवहारका २६ वटा घटना भए भने महिला घरेलु हिंसा १२, बोक्सी आरोप ५, बलात्कारको प्रयास २१, महिला यौन दुव्र्यवहारको घटना ६, महिला बेचबिखन ४ वटा घटना भए ।

पासवान भन्छन्, ‘मानवअधिकार उल्लंघनसहितका अधिकारका यी घटना प्रहरी कार्यालयसम्म पुगेका र प्रकाशित समाचारका आधारमा संकलन गरिएको हो । यो भन्दा धेरै बढी हुन सक्छन्, तर ती घटनाहरू समाजमा मिलाउने गरी र दबाव प्रभावमा दबाइएको पनि हुन सक्छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस