कृषिमा आधुनिकीकरण आवश्यक : अध्यक्ष यादव

राजविराज, २७ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रदेश २ मा ९५ प्रतिशतसम्म जनता कृषिमै निर्भर रहेकोले कृषि क्षेत्रमा आधुनिकीकरण आवश्यक रहेको बताएका छन् ।

सोमवार सप्तरीको राजविराजमा प्रदेश कृषि विश्वविद्यालयको कार्यालय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । ‘अहिले देशभर नै परम्परागत हिसाबले कृषि उत्पादन हुँदै आएको छ, यस्तो उत्पादनबाट कसै–कसैले वर्षभरि नै परिवारको छाक त टार्लान तर यसले समृद्धि चैं ल्याउँदैन’ उनले भने–‘प्रदेशका साथै मुलुकलाई नै समृद्ध पार्न कृषिलाई आधुनिकरणको आवश्यकता छ, यसमा सबैको सहयोग र साथ पनि चाहिन्छ ।’

अध्यक्ष यादवले कृषिकै आधुनिकीकरण एवम् भुमिको व्यवस्थापनले मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य हुने बताए । ‘मुलुकबाट गरिबी र बेरोजगारीको समस्या अन्त्य गर्न नै यहाँ कृषि विश्वविद्यालयको स्थापना भएको छ’ उनले भने–‘यसबाट निस्किने दक्ष जनशक्तिले नै कृषिलाई आधुनिकीकरण गर्ने र भुमिको पनि व्यवस्थापन गरेर उत्पादनमा वृद्धी ल्याउँछन् ।’

सोसँगै हाम्रो पनि कृषि उपजहरु निर्यात गर्ने समय आउने अध्यक्ष यादवले दावी समेत गरे । ‘अहिले हामीलाई समान्य कृषि उपजहरु पनि भारत, चाइना लगायतका मुलुकहरुबाट आयात गरेर खानुपर्ने बाध्यता आइलागेको छ तर हाम्रो कृषिमा आधुनिकीकरण भएसँगै हामी पनि निर्यात गर्न सक्षम हुन्छौं’ उनले भने–‘सोही दिशातर्फ प्रदेश सरकार र आफुहरु लागेका छौं ।’

सोही कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले प्राविधिक दक्ष जनशक्ति उत्पादन नभएसम्म प्रदेश र देशको विकास सम्भव नरहेको बताए । कृषि विश्वविद्यालयका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले जसका लागि प्रदेश सकारले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड गठन गर्न लागेको जानकारी दिए ।

‘संघ सरकार मातहत रहेको सीटीईभीटी प्रदेश मातहतमै राखिनुपर्ने हो तर प्रदेशले प्राविधिक शिक्षा नपाओस् मनसायले सीटीईभीटी चैं प्रदेश मातहत दिन चाहिरहेको छैन्’ उनले भने–‘बाध्य भएर प्रदेश सकारले प्राविधिक शिक्षा सम्बन्धी बोर्ड गठन गर्न जानकारी होस् ।’

प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर एवम् रोजगारमूलक प्रदेश बनाउने बताउँदै मुख्यमन्त्री राउतले जसअनुसार कृषि विश्वविद्यालय स्थापना गरिएको र यसलाई संचालनका लागि प्रदेश सरकार हरसम्भव प्रयासरत रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले विश्वविद्यालय सञ्चालन गर्न बजेट अभाव हुन नदिने प्रतिवद्धता जनाए । कार्यक्रममा सामािजक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव लगायतले पनि बोलेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस