नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो ।

उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको निर्वाचनको परिणामअनुसार कांग्रेस सभापतिमा निर्वाचित बनेका हुन् ।

पहिलो चरणमा भने कांग्रेस विधानअनुसार कसैको पनि ५० प्रतिशत मत कटेको थिएन । दोस्रो चरणमा ४ हजार ५ सय ६४ मत खसेकोमा सभापतिमा निर्वाचित भएका देउवाले २७२४ मत प्राप्त गरेका छन् । पहिलो चरणमा भने ४ हजार ६ सय ७९ मत खसेको थियो ।

त्यसबखत देउवाले २ हजार २ सय ५८ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार डा। शेखर कोइरालाले १ हजार ७ सय २ मत पाएका थिए । पहिलो चरणमा दोस्रो बनेपछि दोस्रो चरणको निर्वाचनमा भने कोइरालाले १८१७ मत प्राप्त गरेका छन् । जारी महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय ३२ पदमा ४ सय ८९ जना उम्मेदवार छन् ।

देशका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशस्थित जनसम्पर्कसमितिबाट कुल ४ हजार ७ सय ४३ जना कांग्रेस १४औं महाधिवेशनका लागि मतदाता रहेका थिए । यसअघि पहिलो चरणको निर्वाचनमा एक सभापति पदमा शेरबहादुर देउवासहित, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने कोइरालाबाहेक सबैले देउवालाई साथ दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । तर, दुई जना भने सर्वसम्मत भइसकेका छन् । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस