जनकपुरमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन शिलान्यास

जनकपुरधाम, २९ मंसिर । प्रदेश सरकारको समन्वय तथा संघीय सरकारको सहयोगमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवम् प्रदेश मेडिकल स्टोर भवनको शिलान्यास सम्पन्न गरिएको छ ।

जनकपुर उपमहानगरपालिका १४ मुजेलिया स्थित ग्रामीण प्रशिक्षण केन्द्र हाताभित्र निर्माण हुन लागेको उक्त भवनहरुको संघीय शहरी विकास मन्त्री रामकुमारी झाँक्री, मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकास मन्त्री नवल किशोर साहले संयुक्त रुपमा शिलान्यास गरेका हुन् । यसैगरी उनीहरुले सोही परिसरमा निर्मित खोप भण्डारण गृहको उद्घाटन समेत गरेका छन् ।

कुल ७ करोड २७ लाख लागतमा निर्माण हुने प्रदेश जनस्वास्थ्य प्रयोगशालाको साढे तीन तल्ले भवन २०८० साल बैशाख ९ गते भित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ भने चार करोड ४२ लाखमा निर्माण हुने प्रदेश मेडिकल स्टोर समेत डेढ वर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ । उद्घाटन तथा शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले शिलान्यास गरिएका भवनहरु तीनै तह बीचको समन्वय र सहकार्यको अनुपम उदाहरण भएको बताए । स्रोत साधनको अभावमा समेत कोभिड १९ विरुद्ध प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले खेलेको भूमिकाको प्रशंसा गर्दै नयाँ भवन निर्माण पछि प्रयोगशाला थप सशक्त हुने विश्वास व्यक्त गरे ।

सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि संघीय सहरी विकास मन्त्री रामकुमारी झाँक्री, समाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो सहितका वक्ताहरुले सम्बोधन गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस