मल नपाउँदा किसान आक्रोशित, सिडिओ कार्यालय घेराउ

राजविराज, २९ मंसिर। गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाएको भन्दै सप्तरीका किसानहरु आक्रोशित बनेका छन् । आक्रोशित किसानहरुले बुधवार राजविराजमा प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ समेत गरेका हुन् ।

दुई सातादेखि निरन्तर धाइरहदा पनि कृषि सामग्री कम्पनी लिमिटेड र सहकारीहरुले रसायनिक मल नदिएपछि किसानहरु आन्दोलित भएका हुन् । राजविराजस्थित तेतरीगाछीबाट किसानहरुद्वारा सयौंको संख्यामा निकालिएको जुलुसले पसलहरु बन्द गराउँदै नेता चौक, गजेन्द्र चौक, सहितका स्थानमा टायर बालेर प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

जुलुससहित कार्यालय पुगेका किसानहरुले प्रमुख जिल्ला अधिकारी विरुद्ध चर्को नाराबाजी गरेका छन् । ‘दुई सातादेखि निरन्तर हामी किसानहरु कृषि सामग्री र सहकारीहरुमा धाउदै छौं’ रविन्द्र कुमार साहले भने–‘तर पनि खाद्य पाइएन, पाउदा पनि महँगो मूल्यमा लिन भन्छन् । एक त वेमौसमी वर्षाले हाम्रो धान खेती वर्वाद भएर लगानी पनि उठ्न सकेको छैन्, र अहिले गहुँ छर्ने बेला मल खाद्य पाउनै गाह्रो ।’

गहुँको विउ छर्ने बेलामा रसायनिक मल नपाउँदा आफुहरु मारमा परेको भन्दै बाध्य भएर आन्दोलित हुनुपरेको अर्की किसान सुशा देवले बताए । ‘आखिर किसानले मात्रै कति मार खेप्ने?, हाम्रो लागि त स्थानीयदेखि प्रदेश र संघ सरकार पनि उदासिन बनेको छ’ उनी भन्छिन–‘आन्दोलनबाहेक के विकल्प छ हामीसँग?’

प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले किसानहरुलाई बोलाएर छलफल गरेका छन् । छलफलमा प्रमुख जिल्ला अधिकारी गौतमले मागअनुसारको मल आपूर्ति नहुँदा वितरणमा समस्या भएको बताए । ‘यहाँ ३५ हजार बोरा मलको माग रहेको अनुमान छ तर सात हजार ८३० जति बोरा मात्रै मल आपूर्ति भएको छ, त्यस कारणले वितरणमा समस्या आएको हो’ उनले भने–‘यद्यपी, हामी प्रयासरत छौं ।’

उनले तत्काललाई विहिवारदेखि लाइनमा बस्ने प्रति किसानलाई २५/२५ किलो मल उपलब्ध गराइने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस