नागरिकता ऐन संशोधन हुनुपर्ने : अध्यक्ष यादव

प्रियासिंह थारु
राजविराज, २९ मंसिर। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अझैं मधेशका धेरै नागरिक नागरिकता पाउनबाट वञ्चित रहेकाले नागरिकता ऐन संशोधन हुनुपर्नेमा जोड दिएका छन् ।

बुधवार सप्तरीको तिरहुत गाउँपालिका–१ मा आयोजना गरिएको वृहत पार्टी प्रवेश अभियानमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मधेसमा अहिले धेरै नागरिक नागरिकताविहीन छन्, जन्मेको आधारमा नागरिकताबाट वञ्चित भएकालाई नागरिकता दिलाउन अहिलेको नागरिकता ऐन नै संशोधन गर्नुपर्ने आवश्यक छ’ उनले भने–‘त्यसकालागि एकजुट हुनु जरुरी छ ।’

दलीय बिरोधका कारण नागरिकता ऐनको संशोधन अवरुद्ध भएको भन्दै अध्यक्ष यादवले यसलाई संशोधन गरेर नागरिकता पाउनबाट वञ्चित रहेका नागरिकलाई नागरिकता दिलाउन जसपा अग्रसर रहेको बताए । ‘मुलुकमा राजनीतिक परिवर्तनले नै संघिय गणतन्त्रको स्थापना, धर्म निरपेक्षता, मौलिक हक, समावेशीता जस्ता परिवर्तन आन्दोलनको परिणाम हो’ उनले भने–‘शासकिय स्वरुप प्रणाली लगायतका धेरै यस्ता प्रणालीलाई अहिले परिवर्तनको आवश्यकता छ ।’

उनले जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने भन्दै जनसंख्या धेरै तर प्रतिनिधित्व न्यून रहेको टिप्पणी समेत गरे ।

अध्यक्ष यादवले मधेसमा ८० प्रतिशत नागरिक कृषिमा आधारित रहेकाले राज्यले पनि कृषि क्षेत्रमा सबैभन्दा बढी लगानी गर्नुपर्नेमा भए पनि वेवास्ता गर्दै आएको बताए ।

जसपा तिरहुत गाउँपालिकाका संयोजक विरेन्द्र मिश्रको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, डाक्नेश्वरी नगरपालिकाका मेयर शिवनारायण साह, तिरहुत गाउँपालिकाकी उपाध्यक्ष तिर्थमाया खंग, वडा नम्वर ४ का अध्यक्ष मनोज यादव लगायतले पनि सम्बोधन गरेका थिए ।

तीन सयबढी नेता/कार्यकर्ता पार्टीमा प्रवेश

जसपा तिरहुत गाउँपालिकाद्वारा आयोजना गरिएको सो कार्यक्रममा तीन सयबढी विभिन्न पार्टी नेता÷कार्यकर्ताले जसपामा प्रवेश गरेका छन् । स्थानीय नेताकार्यकर्ताहरु मो. सुलेमान, मो. उसलाम, मो. उमर, मो.कासिम, मो. संसाद, मो. इरसाद, मो. एबराज, मो. रफिद, मो. रसुल, मो. कमरुलले पार्टीमा प्रवेश गरेका हुन् ।

त्यसैगरी अशोक कुमार सिंह, बिष्णु मण्डल, दिप नारायण साह, रामलोचन मुखिया, रुना देवी मुखिया, संझादेवी सदा, बबी राम, मुत्ति मण्डल, महेश यादव लगरबार, बेचन लगरबार, बची सुतिहार, शकर दास, मनिष दास, रामकिसुन महतो, सत्यनारायण ठाकुर, देव नारायण ठाकुर, लक्ष्मी अरगरया, सकल देव राम, देव नारायण रजक, विजय महतो, विशेश्वर देव, प्रदिप लगरबार लगायत जसपामा प्रवेश गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस