दैनिक १४ करोडभन्दा बढी राजस्व सङ्कलन हुने विराटनगर भन्सारको राजस्व घट्यो

विराटनगर, ७ माघ । विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो छ महिनामा लक्ष्यको ८९ प्रतिशत राजस्व सङ्कलन गरेको छ । विराटनगर नाकाबाट आवतजावत गर्ने मालवाहक सवारीसाधनले प्रयोग गर्ने भारतको मीरगञ्जको पुल पुस २३ गते भासिएपछि त्यसयता राजस्व सङ्कलन घटेको छ ।

सोही कारणले पुस महिनाको राजस्व लक्ष्यको ७६ प्रतिशतमा सीमित भएको भन्सार कार्यालयका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाले जानकारी दिए । पुसमा राजस्व असुली प्रभावित भएसँगै विराटनगर भन्सार कार्यालयको अर्धवार्षिक अवधिमा ८९ प्रतिशत मात्रै असुली लक्ष्य हासिल भएको हो ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २४ अर्ब ४३ करोड ३२ लाख रुपियाँ असुली गर्ने लक्ष्य रहेकामा २१ अर्ब ७९ करोड २५ लाख रुपियाँ मात्रै सङ्कलन भएको छ । सो अवधिमा भन्सार महसुलतर्फ १२ अर्ब ३८ करोड ४६ लाखको लक्ष्यमा नौ अर्ब ३६ करोड ४५ लाख, मूल्य अभिवृद्धि करतर्फ १० अर्ब १९ करोड तीन लाखको लक्ष्यमा १० अर्ब ९४ करोड २७ लाख र अन्तःशुल्कको एक अर्ब ८५ करोड ८३ लाखको लक्ष्यमा एक अर्ब ४८ करोड ५३ लाख रुपियाँ असुली भएको हो ।

दैनिक १४ करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको भन्सार कार्यालयले माघ लागेपछि दुई करोडदेखि पाँच करोड रुपियाँ मात्रै सङ्कलन गर्दै आएको छ । माघ महिनाको पहिलो पाँच दिनमा ५८ प्रतिशत मात्रै राजस्व सङ्कलन भएको छ । पुलका कारण समस्या भएपछि कोलकाताबाटै ढुवानीको रि–रुट भइरहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस