दौडधुपमा देउवाका दूतहरु

काठमाडौं, २० माघ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू विभाजित बन्दै गएका छन् ।

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसीका विषयमा प्रस्ट छ । तर, कांग्रेसबाहेक गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी भने बुधबारसम्म संसद्बाट एमसीसी परियोजना हालकै अवस्थामा पास गर्ने विषयमा सहमत हुन सकेका छैनन् ।

यस्तै, जनता समाजवादी पार्टी नेपालभित्र एमसीसी परियोजनाको विषयमा दुई धार देखिएको छ भने गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चा पनि विपक्षमा छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्बाट एमसीसी परियोजना जसरी पनि अघि बढाउनुपर्ने भन्दै गठबन्धनमा रहेका अन्य दलका नेताहरूमा सहमति गर्न दबाब बढाउँदै आइरहेका छन् भने उनीमाथि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एमसीसीलाई अघि बढाउने विषयमा सहमति गर्न नसकिने भन्दै देउवालाई रोक्दै आइरहेका छन् ।

प्रधानमन्त्री देउवाले भने पटकपटकको गठबन्धन बैठक र शीर्ष तहको बैठकमा एमसीसी परियोजना अघि नबढाए सत्ता गठबन्धनमा नै गडबड हुनेसम्मको चेतावनी दिइसकेका छन् ।

देउवाको सो चेतावनीपछि स्थानीय तहको निर्वाचनका विषयमा पनि सत्ता गठबन्धनमा मतभेद देखिन थालेको छ । गठबन्धन बैठकबाटै जेठभित्र स्थानीय तहको निर्वाचन गर्ने सहमति बनिसकेको र सोहीअनुसार प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँगसमेत निर्वाचनलाई निष्कर्षमा पुर्याउनेगरी छलफल गरिसकेका छन् । राजधानी दैनिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस