आन्दोलित अभिभावकको चेतावनी–‘सुनुवाइ नभए आमरण अनसन बस्छौं’

राजविराज, २० माघ । व्यवस्थापन समितिको निर्वाचन नगराएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित एक विद्यालयका अभिभावकहरु आन्दोलित भएका छन् ।

पछिल्लो समितिको कार्यकाल सकेको दुई वर्षभन्दा बढी भइसक्दा पनि निर्वाचन नगराएपछि वडा नम्वर ९ पथरगाढास्थित एसएलपी माध्यमिक विद्यालयका अभिभावकहरुले अनिश्चितकालिन रिले अनसन थालेका हुन् ।

तीन वर्षे कार्यकाल रहेता पनि पाँच वर्ष बित्न लाग्दा समेत निर्वाचन गर्न आलटाल गर्दै आएको अभिभावकहरुको आरोप छ ।

यसअघि पटक पटक भएको अभिभावक भेलाबाट सहमतिमै नभए निर्वाचन प्रक्रियाबाट व्यवस्थापन समिति गठन गर्नु पर्ने समझदारी भएता पनि कार्यान्वयन नहुँदा बाध्य भएर अनसन सुरु गर्नुपरेको अनसनरत अभिभावक महेश्वर प्रसाद महतोले बताए ।

विद्यालयमा व्यवस्थापन समिति गठन नहुँदा विद्यालयका सयौं विद्यार्थी प्रदेश र संघीय सरकारबाट पाउने विभिन्न सेवा सुविधाबाट बञ्चित हुँदै आएको उनीहरुको भनाई छ ।

बिहीबार लगातार तेश्रो दिन पनि अनसनलाई निरन्तरता दिँदै आएका अभिभावकहरुले माग सम्वोधन गर्नेतर्फ ध्यान नदिए थप सशक्त आन्दोलन गर्ने र आमरण अनसनसम्म बस्ने चेतावनी समेत दिएका हुन् ।

विहिवार महेश्वर प्रसाद महतो, सियाराम यादव, प्रमेश्वर मण्डल, बिरेन्द्र दास, जयलाल यादव लगायत अनसनमा बसेका छन् ।

उता, विद्यालयका प्रधानाध्यापक देवु यादवले कोरोना भाइरसका कारण विद्यालय व्यवस्थापन समितिको निर्वाचन गराउन नसकिएको बताए । भाइरसको संक्रमण दर घटेसँगै समिति गठन गर्ने प्रक्रियामा लाग्ने उनको भनाई छ ।

Author:



क्याटोगरी छान्‍नुहोस