जनमत पार्टीका कार्यकर्तामाथि लाठीचार्ज, एक जना घाइते

राजविराज, २० माघ । सप्तरीमा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गराउँदै हिँडेका जनमत पार्टीका कार्यकर्तामाथि लाठीचार्ज भएको छ । पार्टीको पूर्व घोषित कार्यक्रमअनुसार विहिवार राजमार्गमा चक्काजाम सफल पार्न हिँडेका कार्यकर्तामाथि प्रहरीले चाठीचार्ज गरेको हो ।

राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा लाठीचार्ज हुन थालेपछि भाग्ने क्रममा पार्टीका एक जना कार्यकर्ताको खुट्टा भाँचेको छ । भारदहकै ३० वर्षीय ज्ञानेन्द्रकुमार खड्गा (शंकर)को खुट्टा भाँचेर घाइते भएको जनमत पार्टीका जिल्ला सचिव थानेश्वर साहले बताए ।

खड्गालाई उपचारको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएको छ । सोही क्रममा प्रहरीले केही कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको उनले बताए ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले राजमार्गमा बन्द गराउँदै हिडेका व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा भाग्ने क्रममा एकको खुट्टामा चोट लागेको बताए । ‘लाठीचार्ज भएको छैन्, सडक अवरुद्ध भएपछि केही व्यक्तिहरुलाई नियन्त्रणमा लिन खोज्दा उनीहरु भागेका थिए’ उनले भने–‘सोही क्रममा एक जनाको खुट्टामा चोट लागेको छ ।’

त्यस्तै, जिल्लाको रुपनी र भारदह गरी दुई स्थानबाट छ जना नेताकार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक काफ्लेले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस