स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० मा गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

स्थानीय निर्वाचन ऐनको दफा ३ अनुसार पदाधिकारीको समयावधि सकिनु दुई महिनाअघि निर्वाचन गर्नुपर्ने प्रावधान अनुसार सरकारले वैशाख अन्तिममै निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि गठबन्धनको बैठकले जेठभित्रै निर्वाचन गर्ने निर्णय गरेको थियो ।

१८ माघमा प्रधानमन्त्रीसँग छलफल गरेको निर्वाचन आयोगले एकैचरणमा निर्वाचन गर्न सुझाएको थियो । एकै चरणमा निर्वाचन गर्दा खर्चमा मितव्ययिता हुने, सुरक्षा प्रबन्धमा सहज हुने, निर्वाचन प्रचारप्रसार कम हुने र एक ठाउँको परिणामले अर्को स्थानको नतिजा प्रभावित नहुने सुझाव आयोगको थियो ।

आयोगले निर्वाचन व्यवस्थापनका लागि पर्याप्त समय रहेको बताएको छ । निर्वाचनका लागि १ सय २० दिनको समय आवश्यक पर्ने भए पनि ४ जेठमा निर्वाचन गर्न पनि आयोग तयार अवस्थामा रहेको जानकारी सरकारलाई गराएको थियो ।

‘मतदाता नामावली संकलन, मतदान स्थलहरूको पुनरावलोकन र निर्धारण तथा निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्व तयारीका अन्य काम निरन्तर गरिरहेकाले आयोगले प्रस्ताव गरेको मिति अनुसार निर्वाचनको मिति तोकए स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आयोग तयारी अवस्थामा छ’, आयोगले प्रधानमन्त्री देउवालाई भनेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस