किसानको माग सम्बोधन नभई निर्वाचन गराए अवरोध गर्ने डा.राउतको चेतावनी

वीरगंज (पर्सा) । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय निर्वाचनमा अवरोध गर्ने चेतावनी दिएका छन् । बुधबार वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

‘किसान आन्दोलनको माग सम्बोधन नभई स्थानीय तह निर्वाचनको परिकल्पना गर्न सकिदैन’ उनले भने ‘पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनी मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं ।’

अध्यक्ष राउतले नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई–मधेशमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा अवरोध गर्ने बताए । जनमत पार्टी निर्वाचन विरोधी नभएको जिकिर गर्दै अध्यक्ष राउतले निर्वाचनमा जान आतुर रहेता पनि निर्वाचनमा जानु अगाडि सरकारले कमसेकम किसान आन्दोलनको माग सम्बोधन गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

‘यो निर्वाचनबाट कुनै ठूलो उथलपुथल होला भन्ने छैन । अहिलेसम्म त्यही ३/४ जना नेताको अनुहार आउने हो । जुनसुकै सरकार आएपनि एजेण्डा यही रहने हो । त्यसैले यो सरकारले सम्बोधन प्रक्रिया वा तत्पर्ता देखाएको भए हुन्थ्यो’ सञ्चारकर्मीहरुको जिज्ञासामा डा.राउतले भने, ‘किसान आन्दोलनको ज्ञापन पत्र नलिने तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरु दौडिरहेका छन् ।’

अर्को चरणको किसान आन्दोलन फागुन १ गतेबाट घोषणा हुने अध्यक्ष राउतले जानकारी पनि गराए ।

Author:



क्याटोगरी छान्‍नुहोस