राजविराज, ८ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकामा चार दलका नेता–कार्यकर्ता र जनप्रतिनिधिबीच आइतबार झडप भएको छ । झडपमा एक जनप्रतिनिधिसहित दुई जना घाइते भएका छन् ।
चार दलआवद्ध नेता/कार्यकर्ताले संयुक्त रुपमा गत विहिवार नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा योजना, लेखा र प्राविधिक शाखामा तालाबन्दी गरेका थिए । छ बुँदे माग राखि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेता/कार्यकर्ताद्वारा लगाइएको ताला गत शुक्रवार जनप्रतिनिधिहरुले फुटाएका थिए ।
आन्दोलनरत दलले पुनः ताला लगाउन खोजेपछि झडप भएको हो । झडपका क्रममा वडा नम्वर–४ का वडाध्यक्ष बद्रीनारायण चौधरी र स्थानीय किसुन यादव घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । ‘ढुंगामुढा हुँदा नगरपालिका भवनका झ्यालमा लगाइएका केही सिसाहरु फुटेको छ भने दुई जना समान्य घाइते भएका छन्’ उनले मधेशलाइभसँग भने । दुवै जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरूको कार्यान्वयन तुरुन्त गर्नुपर्ने, महालेखा नियन्त्रकका कार्यालयले देखाएको बेरुजुको विवरण तथा आन्तरिक लेखा परिक्षणको विवरण उपलब्ध गराई नगर कार्यपालिका र नगरसभाबाट पारित भएका कानूनी कार्वाही सम्बन्धी निर्णयहरुको विवरण उपलब्ध गराउनुपर्ने लगायत छ बुँदे माग राखि चार दलले गत माघ २४ गते नगरपालिकामा ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्रबाट उठाइएका मागहरु ७ दिनभित्र कार्यान्वयन नभए थप संघर्षमा जाने अल्टिमेटम समेत दिइएको थियो । सोहीअनुसार गत विहिवार उनीहरुले नगरपालिकामा तालाबन्दी गरेका थिए ।