युक्रेन–रुस तनावः राष्ट्रपतिद्वारा सेना परिचालनको आदेश, १८ देखि ६० वर्षका पुरुषले देश छाड्न नपाउने

बीबीसी । रुससँग विभिन्न स्थानमा युद्ध भइरहेको अवस्थामा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आम रूपमा सेना परिचालनको आदेश दिएका छन् । युक्रनेको आन्तरिक मामिलासम्बन्धी मन्त्रालयले सबै युक्रेनीहरूले हतियार उठाएर देशको रक्षा गर्ने बेला आएको जनाएको छ ।

जगेडामा राखिएका सेनालाई काममा बोलाइएको छ भने १८ देखि ६० वर्षका पुरुषहरूले देश छाड्न नपाउने बताइएको छ । एउटा भिडिओ सन्देशमा राष्ट्रपति जेलेन्सकीले रुसी आक्रमणको पहिलो दिन १३७ युक्रेनीहरूले ज्यान गुमाएको बताएका छन् ।

युक्रेनको सेनाका अनुसार रुसले राजधानी किएभ घेर्ने अनि ब्ल्याक सीको तटसम्म पुग्ने बाटो सुरक्षित गर्ने रणनीति बनाएको छ । युक्रेनको सेनाले रुसी हमलाको जवाफमा आक्रमण गरिरहेको बताएको छ । रुसी आक्रमणको पहिलो दिन हजारौँ युक्रेनी नागरिकले घर छाडेर सुरक्षित स्थानमा पुगेका छन् ।

रात्रिकालीन कर्फ्यु लगाइएको राजधानी किएभमा कैयौँ सर्वसाधारणहरू मेट्रो स्टेसनमा पुगेका छन् । जसलाई बम हमलाबाट जोगिने आश्रय स्थलका रूपमा प्रयोग गर्नका लागि खुला राखिएको छ ।

यकिन संख्या स्पष्ट भई नसकेको भए पनि अमेरिकाका लागि युक्रेनका राजदूतले कैयौँ सर्वसाधारण मारिएको बताएका छन् । पूर्वी युक्रेनस्थित हार्कीभ सहरको स्थानीय प्रशासनले २६ जना सर्वसाधारण घाइते भएको बताएका छन् । आक्रमण फैलिँदै गएको अवस्थामा युक्रेनका छिमेकी राष्ट्रहरूले ठूलो संख्यामा आफ्नो देशमा शरणार्थीहरूलाई स्थान उपलब्ध गराउने तयारी थालेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस