सहकारीको ब्याजदर १६ प्रतिशत पुग्यो, ऋण लगानीमा सेवा शुल्क तोकियो

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुको सन्दर्भ ब्याजदर परिमार्जन गरेको छ । फागुन १३ गते बसेको सन्दर्भ व्याजदर निर्धारण समितिको बैठकले गरेको सिफारिसमा फागुन १५ गतेदेखि लागु हुनेगरी सहकारीको सन्दर्भ ब्याजदर वृद्धि भएको सहकारी विभागले जनाएको छ ।

“सहकारी ऐन, २०७४ को दफा ५१ वमोजिम सन्दर्भ ब्याजदर निर्धारण समितिको  सफारिसमा सहकारी संघसंस्थाहरुका लागि मिति २०७८ फागुन १५ गतेदेखि लागु हुनेगरी सन्दर्भ ब्याजदरको अधिकतम सीमा १६ प्रतिशत तोकिएको छ,” सहकारी विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

विभागले सबै सहकारी संघ संस्थाहरुले सदस्यहरुलाई ऋण प्रवाह गर्दा अधिकतम् सीमा १६ प्रतिशतमा नबढ्नेगरी, बचत र ऋणको ब्याजदरको अन्तर ६ प्रतिशत कायम हुनेगरी ब्याजदर कार्यान्वयन गर्न विभागले निर्देशन दिएको छ ।

बचत तथा ऋणको कारोबार गर्ने सबै संघसंस्थाहरुले प्रवाह गर्ने ऋण लगानीमा व्यक्तिगत तर्फ १ प्रतिशत र सामूहिक जमानीतर्फ १.५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने विभागको सूचनामा उल्लेख छ ।

यसरी तोकिएको सन्दर्भ ब्याजदर सहकारी संघसंस्थाहरुका लागि निर्देशक ब्याजदरको रुपमा रहने हुँदा सहकारी विभाग र राष्ट्रिय सहकारी महासंघ तथा केन्द्रीय विषयगत संघहरुबाट पालनाको अनुगमन गर्दा सहकारी कानुन बमोजिम हुने विभागले जनाएको छ । विभागले सन्दर्भ ब्याजदर कार्यन्वयनमा आएपछि दोस्रोपटक परिमार्जन गरेको हो ।

विभागले पहिलो पटक २०७६ साउन १९ गतेबाट सन्दर्भ ब्याजदर कार्यान्वयनमा ल्याएको थियो । विभागले त्यतिबेला ऋणको अधिकतम ब्याजदर १६ प्रतिशत ननाघ्ने गरी बचत र ऋणको ब्याजदर अन्तर ६ प्रतिशत अधिकतम ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था गरेको थियो ।

२०७७ कात्तिक १५ गतेबाट लागु हुनेगरी सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा ब्याजदरमा पुनराअवलोकन गरेको थियो । २०७७ कात्तिक १५ गतेबाट ऋणको अधिकतम ब्याजदर १४.७५ प्रतिशत तोकेको विभागले बचत र ऋणको ब्याजरको अन्तर ६ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्थालाई यथावत राखेको थियो ।

२०७८ फागुन १५ गतेबाट लागु हुनेगरी विभागले सन्दर्भ ब्याजदर परिमार्जन गरेको हो । यसपछि  सन्दर्भ व्याजदर निर्धारण समितिको सिफारिसमा विभगाले सहकारीले ऋण लगानी गर्दा लिन पाउन सेवा शुल्क पनि तोकेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस