आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ‘फेमिली फोल्डर’ एप्लिकेशन

जनकपुरधाम, १५ चैत । प्रत्येक नागरिकको आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न मधेश प्रदेश सरकारले ‘फेमिली फोल्डर’ नामक डिजिटल एप्लिकेशन प्रयोगमा ल्याएको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार स्वास्थ्य निर्देशनालयले सो एप्लिकेशन प्रयोगमा ल्याएको हो ।

आम नागरिकको स्वास्थ्यसँग जोडिएको समस्या, समस्या समाधानका लागि सरकारबाट प्रदान गरिने सेवाको सुनिश्चितता तथा सेवा प्रवद्र्धन एवम् स्वास्थ्य सेवा सम्बन्धी प्रभावकारी योजना निर्माण गर्न तथ्यांक दुरुस्त राख्ने उद्देश्यले सो डिजिटल एप्लिकेशन प्रयोगमा ल्याइएको स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए ।

उनका अनुसार सो एप्लिकेशन पहिलो वर्षमा प्रदेशका ८ वटै जिल्लाका दुई/दुई वटा स्थानिय तह छनौट गरी प्रयोगमा ल्याइएको छ । जसअनुसार गत आइतबार सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका र हनुमानगर कंकालिनी नगरपालिकामा एकैसाथ यो कार्यक्रम लागु गरिएको हो ।

प्रदेश सरकारका अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहले तिलाठी कोईलाडी गाउँपालिकामा र सामाजिक विकास मन्त्री नवलकिशोर साहले हनुमाननगर कंकालिनी नगरपालिकामा सो एप्लिकेशनको सुभारम्भ गरेका हुन् ।

कार्यक्रम अन्तर्गत दुवै स्थानिय तहका प्रत्येक स्वास्थ्य संस्थालाई ट्याव उपलब्ध गराइएको छ । एप्लिकेशनमा प्रत्येक परिवारको स्वास्थ्य, शिक्षा र रोजगार सम्बन्धी विवरणकासाथै खोप लगायत स्वास्थ्य सेवा सम्बन्धी विवरण र सेवा पाइने समय, स्थान र मिति समेतबारे सर्वसाधारणलाई जानकारी उपलब्ध हुने गरी अपडेट गरिने जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस