राजविराज । सप्तरीमा एकैदिन चार वटा सडक योजनाको शिलान्यास हुँदैछ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आइतवार ती सडक योजनाको शिलान्यास गर्नेछन् ।
सप्तर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभा सांसदमा निर्वाचित उनले निर्वाचन क्षेत्र नम्वर १ र २ मा गरी दुई–दुई वटा सडकको शिलान्यास गर्ने कार्यतालिका रहेको छ । जसअनुसार राजविराज नगरपालिका–१० स्थित दिघबामा विहान वजे विरौल–डुमरी–भरुवा–झल्ही फर्सेठ–सिगियौंन–तिलाठी–चट्टी टोल–लोखरम–लालापट्टी सडकको शिलान्यास हुनेछ ।
संघ र प्रदेश सरकारको समपूरक अनुुदानअन्तर्गत निर्माण हुुन लागेको सो सडकको शिलान्यास कार्यक्रममा संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुुकुमारी यादव, मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, राष्ट्रिय सभा सदस्य मृगेन्द्रप्रसाद सिंह यादव लगायतको सहभागी रहने जनाएको छ ।
कूल ५४ करोड ८९ लाख ५६ हजार ३७६ रुपैयाँ ३८ पैसा बजेट रहेको सो सडक निर्माण गर्ने जिम्मा रमण जे.एस. आइभी कन्सट्रक्सनले ३१ करोड ३८ लाख ८७ हजार ११८ रुपैयाँ ५६ पैसा लिएको छ । त्यस्तै, महदेवा गाउँपालिका–१ पकरी–सोनरा–तोपा हुँदै राजविराज–१५ स्थित मुसहरनियाँ–विषहरिया– सकरपुरा–रम्पुरा डलवासम्मको सडक समेत आइतबारै शिलान्यास हुने कार्यक्रम छ ।
कूल ५४ करोड ६३ लाख हजार ७५१ रुपैयाँ बजेट सो सडक निर्माण गर्ने जिम्मा पनि रमण जे.एस. आइभी कन्सट्रक्सनले ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा लिएको छ । त्यस्तै, संघ सरकारको रणनीतिक सडक अन्तर्गत कूल २५ करोडको लागतमा निर्माण हुने सप्तरीको भारदह–डाढा, पकरी सडक पनि आइतवारै शिलान्यास हुने कार्यक्रम रहेको जनाएको छ ।