‘बालबालिकाको सर्वोत्तम हितलाई राज्यले प्राथमिकता दिनुपर्ने’

राजविराज, ८ वैशाख । सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयमा बाल अधिकार चेतना समूहले तयार पारेको कार्ययोजना अनुसार आज वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश जनकपुरधामद्वारा सञ्चालित इएलपी परियोजना अन्तर्गत स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जबाफदेही बनाउने कार्यक्रमअन्तर्गत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले बाँच्न पाउने अधिकार, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागिताको अधिकारलाई बालअधिकार सम्बन्धि महासन्धिले बालबालिकाको आधारभुत अधिकारको रुपमा ब्यवस्था गरेको बताए ।

सबै बालबालिकाले विना भेदभाव, विना पक्षपात सम्पूर्ण अधिकारहरु पाउनु पर्ने बताउँदै पोखरेलले बालबालिकाहरुका निम्ति गरिने प्रत्येक कार्यहरुमा बालबालिकाको सर्वोत्तम हितलाई राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिए । नगरस्तरीय मानव अधिकार निगरानी समूहका अध्यक्ष रघुबर साहले बालबालिकालाई समाजको अभिन्न अंग मानी हरेक गतिविधिमा सहभागी गराइनु पर्ने र बालबालिकासँग सम्बन्धित विषयमा उनीहरुले आफ्नो विचार ब्यक्त गर्नु पर्ने बताए ।

विद्यालयका ११ जना सहभागी प्रतियोगितामा नेहा झा प्रथम, शोभाकान्त यादव द्वितिय, मेघाकुमारी यादव यादव तृतीय र प्रियान्सुकुमारी यादवले सान्तवना पुरस्कार प्राप्त गरेका छन् । विजेताहरूलाई प्रमुख अतिथि पोखरेल, निगरानी समूहका अध्यक्ष साह, एकल महिला समूहकी प्रदेश अध्यक्ष अनीता देवकोटा र शिक्षक गिरीराज पौडेलले डिक्शनरी, व्याकरण, कम्प्युटरका पुस्तकहरू वितरण गरे ।

समूहका अध्यक्ष साहको अध्यक्षतामा आयोजित वक्तृत्वकला प्रतियोगितामा निगरानी समूहका सचिव दिनानाथ यादव, कोषाध्यक्ष पुनम पोखरेल, सदस्य सीता यादवलगायतले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस