दलित युवाको कुटिकुटी हत्या

राजविराज, १४ वैशाख । सप्तरीको खडक नगरपालिकामा विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी एक दलित युवाको मृत्यु भएको छ ।

वडा नम्वर ४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको विराटनगरमा उपचारको क्रममा बुधवार विहान मृत्यु भएको हो । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा गत सोमवार राति जन्ती आएको थियो ।

डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडी आफुहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाई भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थल तर्फ जान आग्रह गरेका थिए । ‘हामीहरुलाई अझै नाच्नु छ, केही बेर अझै पर्खनु’ भन्दै गैर दलित युवाहरुले जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको थियो । नाच्न पुगेका युवाहरुले वेहुली पक्षकालाई गाली गलौच सुरु गरेपछि सन्तलाल समेतले युवाहरुलाई विवाद नगर्न भनि सम्झाई बुझाई गर्न खोजेका थिए ।

जन्ती वेहुली घरतर्फ गएको केही समयपछि हुल बाँधेर पुगेका युवाहरुको जथाले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इट्टाले निर्घात कुटेपछि उनको अवस्था गम्भीर बनेको बुवा राम अषिश पासवानले बताएका छन् । विहेकै दिन सोमवार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडा अध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाई समेत लिएर गैर दलित युवाहरुले आफ्नो छोरामाथि आक्रोश पोखेको उनको आरोप छ । ‘तिमी दलितहरु बढी राजनीति गर्न थाल्यौं ?’ भनेर धम्क्याउँदै छोरामाथि जाइलागेको उनको भनाई छ ।

उनले विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरी लगायतले छोरालाई कुटेको जानकारी दिएका छन् । घाइते सन्तलाललाई उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगेपछि त्यहाँ उपचार हुन नसक्दा विराटनगरस्थित नोबेल अस्पताल पु¥याइएको थियो ।

उपचारकै क्रममा बुधवार विहान सन्तलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको बताउँदै प्रहरी नायव उपरीक्षक काफ्लेले घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताए ।

उपचार क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले बुधवार विहानदेखि पूर्व पश्चिम राजमार्ग अमहा चौकमा ३ घण्टा चक्काजाम गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान गरेर पीडितलाई न्याय दिने भन्नेमा सहमति हुँदा राजमार्ग सुचारु भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस