परीक्षा हलमा चालक नै मच्चाउँछ आतंक !

राजविराज, १५ वैशाख । गृह मन्त्रालयले विश्वविद्यालय वा विद्यालय तहका परीक्षामा तोकिएका निरीक्षक बाहेककाले अनुगमनका नाममा परीक्षाको वातावरण नै अस्वस्थ बनाउने गरेको भन्दै सचेत गराइरहेकै बेला सप्तरीमा एक चालकले परीक्षा हलमा आतंक मचाइरहेको पाइएको छ ।

वैशाख ९ गतेदेखि सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई)मा शिक्षा विकास तथा समन्वय इकाइ, सप्तरीका चालक सत्यनारायण दासले परीक्षा हलमा आतंक मचाइरहेको कुरा खुल्न आएको हो ।

गृह मन्त्रालयले गत बुधवार विज्ञप्ति जारी गर्दै अनुगमनका नाममा (तोकिएका निरीक्षक बाहेक) ठुलो संख्यामा बाह्य व्यक्तिहरु एकै पटक वा पटक–पटक परीक्षा हलमा प्रवेश गरी परीक्षाको वातावरण अस्वस्थ बनाउने गरेको पाइएको भन्दै त्यस्ता कार्य नगर्न–नगराउन सचेत गराएको छ । तर, चालक दासले परीक्षा हलमै प्रवेश गरेर केरकार गर्दै हैरान पार्ने कार्य गरेको नाम नछाप्ने सर्तमा बुधवार पकरीस्थित माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका एक विद्यार्थीले मधेशलाइभलाई बताए ।

‘कालो बण्डी लगाउनुभएको सरले अन्यासै केरकार गरेर १०/१५ मिनट खाइदिनुभयो’ उनले भने–‘अर्को कोठामा भएका साथीहरुलाई पनि त्यस्तै गरेको बताए पछि उहाँको विषयमा बुझ्न मन लाग्यो र सोधखोज थाले ।’

पछि उनी शिक्षा विकास तथा समन्वय इकाईका चालक रहेको शिक्षकहरुबाट थाहा पाएको उनले बताए । ‘उहाँ सोही कार्यालयका सरहरुलाई लिएर आउनुभएको थियो रे । तर मेरो नाम नलेखदिनु होला । स्कुलका सरहरु रिसाउनुहुन्छ’, उनले भने ।

उता, शिक्षा विकास तथा समन्वय इकाईका इकाई प्रमुख विजय मण्डलले चालक दासको आफुहरुलाई परीक्षा केन्द्रसम्म पुर्याउने कार्य रहेको बताए । ‘हामीलाई पुर्याएर उहाँ चैं हाम्रो सहयोगीको भुमिकामा रहनुहुन्छ, उहाँ निरीक्षक भने होइन’ उनले भने–‘परीक्षा यहाँ मर्यादित र सभ्य रुपमा भइरहेको छ ।’

चालक दासले त्यस्तो कार्य नरहेको उनले दावी समेत गरे । तर, चालक दासले त्यस्तो गरेको पाइए के गर्नुहुन्छ ? भनेर प्रश्न गर्दा इकाई प्रमुख मण्डलले जवाफ फर्काएन ।

Author:



क्याटोगरी छान्‍नुहोस