महिला उम्मेदवार बनाउनेमा जनमत पार्टी अगाडी

राजविराज, १९ वैशाख । स्थानीय तह निर्वाचनमा प्रमुख पदका लागि राजनीतिक दलहरुले उम्मेदवार छनोट गर्दा सप्तरीमा पनि महिलालाई न्यून संख्यामा उम्मेदवार बनाएका छन् । जिल्लाका १८ स्थानीय तहमध्ये राजनीतिक दलहरुका तर्फबाट प्रमुख तथा अध्यक्ष पदमा उम्मेदवार बनाइएकाहरुको संख्या ८ मात्र रहेको छ ।

दुई महिलाले भने स्वतन्त्र उम्मेदवारका रुपमा अध्यक्ष पदका लागि मनोनयन पत्र दर्ता गराएका छन् । महिलालाई अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवार बनाउनेमा जनमत पार्टी देखिएको छ । उसले जिल्ला सदरमुकाम समेत रहेको राजविराज नगरपालिकामा ममता झालाई नगर प्रमुखको उम्मेदवार बनाएको छ ।

यसैगरी उक्त पार्टीबाट सप्तकोशी नगरपालिकामा प्रियंका कुमारी सन्तले प्रमुख पदमा उम्मेदवारी दर्ता गराएकी छिन् । नेपाली कांग्रेसले पनि सुरुङ्गा नगरपालिकामा गिता चौधरीलाई प्रमुख पदमा उम्मेदवार बनाएको छ ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा), नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी (एस) र नेपाल मजदुर किसान पार्टीले एक–एक महिलालाई अध्यक्ष पदमा उम्मेदवार बनाएका छन् ।

लोसपाबाट तिरहुत गाउँपालिकामा साधनाकुमारी यादव, एमालेबाट तिलाठी कोइलाडी गाउँपालिकामा मिनादेवी राम, नेकपा एसबाट सोही गाउँपालिकामा किरणकुमारी मिश्र, माओवादी केन्द्रबाट बलान विहुल गाउँपालिकामा वविताकुमारी यादव र नेपाल मजदुर किसान पार्टीबाट रुपनी गाउँपालिकामा श्यामकुमारी देवी साह अध्यक्ष पदको उम्मेदवार बनेका छन् ।

जनमत पार्टीले राजविराज नगरपालिकामा उप प्रमुखमा पनि महिलालाई नै उम्मेदवार बनाएको छ । उक्त पार्टीबाट साधना दास उप प्रमुखको उम्मेदवार बनेकी हुन् । यसैगरी एमालेले तिलाठी कोइलाडी गाउँपालिकामा महिला अध्यक्षसँगै उषाकुमारीलाई उपाध्यक्षमा उम्मेदवार बनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस