प्रतिपक्षीको भुमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दिन: पूर्व मेयर शम्भुप्रसाद

राजविराज, १३ जेठ । सप्तरीको राजविराज नगरपालिकाका पूर्व मेयर समेत रहेका मेयरका प्रत्यासी शम्भुप्रसाद यादवले निर्वाचित भएका मेयरको राम्रो काममा हातमा हात मिलाएर काम गर्ने बताएका छन् ।

नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका उनले आज (शुक्रवार) राजविराजमा पत्रकार सम्मेलन गर्दै नगरका मतदाताहरुलाई धन्यवाद दिँदै यस्तो बताएका हुन् । ‘मेयर सहितका पदमा निर्वाचित हुनु भएकाहरुको राम्रो काममा हातमा हात मिलाएर काम गर्दछु’ उनले भने–‘तर नगर वा नगरवासीलाई अहित हुने गरी काम हुन लागे वा भएको खण्डमा जनतासँग हातमा हातमा मिलाएर प्रतिपक्षीको भुमिका निर्वाह गर्न कुनै कसर बाँकी राख्दिन् ।’

जनताले प्रतिपक्षमा बस्न दिएको मत प्रति धन्यवाद दिँदै उनले अबको दिनमा जनतासँगै हातेमालो गरेर अघि बढ्ने बताए । ‘मेरो जीवनको मुख्य लक्ष्य नै जनताप्रति उत्तरदायी भएर राजनीति गर्ने हो’ उनले भने–‘जनताको सेवामा हरक्षण समर्पण रहनेछु ।’

जनतासँगै बसेर जनताको समस्या समाधान गर्नका निम्ति राजविराजमै पूर्व मेयरको कार्यालय सञ्चालन गर्न लागेको नेता यादवले पत्रकार सम्मेलनमा जानकारी गराए । ‘केही दिनभित्रै यहाँ पूर्व मेयरको कार्यालय स्थापना गर्न लागिरहेका छौं’ उनले भने–‘सो कार्यालयबाट जनताको समस्यामाथि समाधानको पहल गर्ने र प्रत्यक्ष रुपमा जनताको सेवामा लाग्नेछु।’

वर्तमान मेयरले नगरमा थालेका कार्यलाई कुन रुपमा लिनुहुन्छ? प्रश्नमा पूर्व मेयर यादवले भने–‘राम्रो कामलाई राम्रो भन्नुपर्छ तर सुन्दैछु ‘टुरिजम एरिया’ निर्माणका लागि दानमा नगरपालिकाले पाएको जग्गा छाडेर अर्कै ठाउँलाई चयन गर्ने जुन काम भइरहेको त्यो सरासर गलत हो ।’

झण्डै अढाई करोड रुपैयाँ बराबरको वडा नम्वर ११ स्थित १७ कठ्ठा जग्गा दानमा पाएपछि टुरिजम एरिया निर्माण गर्न शिलान्यास समेत भइसकेको जानकारी गराउँदै उनले सो जग्गामा टुरिजम एरिया नबने सरासर गलत हुने बताए । उनले निर्वाचनको बेला आम सञ्चारमाध्यम र सञ्चारकर्मीहरुले गरेको सहयोग प्रति पनि उनले धन्यवाद व्यक्त गरे ।

सोही पत्रकार सम्मेलनमा नेकपा माओावादी केन्द्रबाटै उपमेयरकी प्रत्यासी पर्मिलाकुमारी साहले पनि मतदाताहरुमा धन्यवाद दिइन । ‘जित हार भनेको निर्वाचनको एउटा प्रक्रिया हो । ती प्रक्रिया नै लोकतन्त्रको मूल आधार र मान्यता पनि हो’ उनले भने–‘हामीलाई यस पटक जनताले प्रतिपक्षमा राख्न रुचाएका छन् र प्रतिपक्षमा रहेर हामीले त्यो जिम्मेवारी पूरा गर्नेछौं ।’

Author:



क्याटोगरी छान्‍नुहोस