बुवाको हत्यामा जन्मकैद सजाय पाएकी छोरी रिहा

राजविराज, ३ असोज । सप्तरीमा आफ्नै बुवाको हत्यामा जन्मकैद सजाय पाएकी छोरीसहित १७ जनाको सजाय मिनाहा भएको छ । संविधान दिवसको अवसर पारेर सोमवार उनीहरुलाई रिहा गरिएको जेलर किेशार कुमार रामले जानकारी दिए ।

जिल्लाको खडक नगरपालिलकाकी ३२ वर्षीया रुबेदा खातुनको आफ्ना बुवा तत्कालिन सांसद रहेका सदरुल मियाँ हकको हत्यामा संलग्नता देखिएको थियो । मियाँको २०७० सालमा खडक नगरपालिकास्थित आफ्नै पेट्रोल पम्पको निवास स्थलमा सुतिरहेका बेला घाँटी रेटेर हत्या भएको थियो ।

अनुसन्धानको क्रममा छोरी रुबेदा समेतको संलग्नता रहेको प्रमाणित भएपछि कर्तव्य ज्यान मुद्दामा सप्तरी जिल्ला अदालतलको २०७३ कार्तिक ३० गतेको फैसलाले रुबेदालाई जन्मकैद (२० वर्ष) कैद ठहर भएको थियो । ९ वर्षदेखि कारागारामा रहेकी रुबेदा खातुनको राम्रो आचरण भएकाले बाँकी कैद सजाय मिनाहा भएको कारागार प्रशासनले जनाएको छ।

उनीसँगै कर्तव्य ज्यान मुद्दाका छिन्नमस्ता गाउँपालिका संंतोष कुमार यादव, विरेन्द्र साह सोनार, राजविराजका रवी मण्डल धानुक र डाक्नेश्वरी नगरपालिकाका अशोक कुमार मण्डल रिहा भएको जेलर रामले बताए । त्यस्तै, कर्तज्य ज्यान मुद्दाकै हनुमाननगर कंकालिनी नगरपालिका निवासी सोनेलाल मण्डल, बोदे वरसाईन नगरपालिकाका सुरेश कुमार यादव र उदयपुर कटारी नगरपालिकाका ललित बहादुर माझीको कैद मिनाहा भएको हो ।

त्यस्तै, सवारी ज्यान मुद्दाका रुपनी गाउँपालिका ६ का रंजित कुमार भगत, खडक नगरपालिकाका लक्ष्मी प्रसाद चौधरी, अग्नीसाईर कृष्णासवरण गाउँपालिका शम्भु मुखिया, कंचनरुप नगरपालिका अर्जून मण्डलको कैद मिनाहा भएको छ भने डाँका मुद्दाका राजविराज निवासी मो.अकबरको कैद मिनाहा भएको छ ।

चोरी नकवजनी मुद्दाका सप्तकोशी नगरपालिका निवासी विशाल मुखिया र चन्दन मुखिया पनि कैद मिनाहा भएको जेलर रामले बताए । उनीहरुलाई सोमबारै रिहा गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस