छोरीको सामुहिक बलात्कार र पतिको हत्याः आरोपी छुट्नसक्ने भयले पीडित दलित परिवारमा त्रास

राजविराज, ३ असोज । छोरीको सामुहिक बलात्कारपछि न्यायका लागि कानूनी बाटोमा लागेका पतिको पनि हत्या भएको भन्दै आरोपी छुट्नसक्ने पाइएपछि सप्तरीका एक दलित परिवार त्रसित हुन पुगेको छ ।

सञ्चारकर्मी गुहार्दै सोमवार सदरमुकाम आएकी जिल्लाको शम्भुनाथ नगरपालिका–३ कचनदाहाकी ४० वर्षीया घुरनीदेवी रामले पत्रकार सम्मेलन गर्दै आफ्नो पीडा पोखेकी छन् । ‘२०७५ सालमा छिमेकीहरु बबी चौधरी, मनोज साह, अर्जुन साह, एथलेटिक चौधरीसहित ५ जनाले आफ्नी १४ वर्षीया छोरीमाथि सामुहिक बलात्कार गरे, न्यायका लागि आफुहरु कानूनी बाटोमा लागेका थियौं’ उनले भनिन्, ‘कानूनी लडाइ लडिरहदा आफुहरुलाई ज्यानै मार्नेसम्मको धाकधम्की आइरहेको थियो तर पनि आफुहरु पछि हटेनौं ।’

बलात्कार घटनामा संलग्नका आफन्तहरुले दिएको धम्की नै अनुसार २०७७ असार २९ गते पति त्रिभुवन रामलाई वेपत्ता पारेको उनले बताइन् । ‘त्यसको भोली पटक असार ३० मुतनी नदीमा पतिको शव फेला पर्यो, टाउको र चिउँडोमा चोट देखिएको, कानबाट रगत बगेको, छाती र कुहिनाको छाला घिसारेर ताछिएको शवको अवस्था थियो’ उनले भनिन्, ‘प्रहरीले अनुसन्धान थाले र १६ दिनपछि ४ जनालाई पक्राउ पनि गरे ।’

उनले पक्राउ गरिएका सोही ठाउँका प्रभु साह, शम्भु चौधरी, पंकज चौधरी र सुरेन्द्र पाललाई पुर्पक्षका लागि कारागार पठाइएको बताइन् । ‘घटना गराउने ३ जना अझै फरार छन्, यता पुर्पक्षका लागि कारागारमा रहेकालाई यी चारै जनालाई धरौटीमा छाड्ने गाउँभरि नै हल्ला छ’ उनले भनिन्, ‘उनीहरु छुट्यो भने हामीलाई पनि मारेर छाड्छ, हामी मर्न तयार छौं तर न्याय नपाउने विषयले पिरोलेको छ ।’

उनले यसअघि छोरीको बलात्कार घटनामा पक्राउ परेकामध्ये बबी चौैधरी बाहेक सबैलाई धरौटीमा छाडिसकेको सुनाइन् । ‘सामुहिक बलात्कार घटनाका दोषीहरु त्यसै बाहिर घुमिरहेको हेर्दा पतिको हत्या घटनामा पनि न्याय नपाउने हो कि? भनेर चिन्ता थपिएको छ’ उनले भनिन्, ‘अर्कोतर्फ आफुहरुलाई झन असुरक्षित महसुस भइरहेको छ ।’

उनले न्यायको गुहार गर्दै सुरक्षा व्यवस्थामा पहल गरिदिन सञ्चारकर्मी समक्ष आग्रह गरिन् । ‘आफ्ना २१, १८ र ११ वर्षीया गरी ३ छोरी र एक ७ वर्षीय छोरा छन्, एउटी छोरीको विहे भइसकेको छ, अन्य सन्तान र आफुलाई कसरी सुरक्षित राख्ने?’ उनले भनिन्, ‘बाध्य भएर न्याय गुहार्न यहाँसम्म आइपुगेकी हुँ ।’

पत्रकार सम्मेलनमा उनका छिमेकी जयप्रसाद रामले एक महिनाअघि मात्रै स्थानीय प्रशासनलाई समेत सो जानकारी गराइएको बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस