आजदेखि निर्वाचन आचारसंहिता लागू

जनकपुरधाम। निर्वाचन आयोगले मंसिर ४ मा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बुधबारदेखि आचारसंहिता लागू गरेको छ । राजनीतिक दलहरूलाई ६० बुँदे निर्देशन दिएको निर्वाचन आयोगले आचारसंहिता लागू गर्ने निर्णय मंगलबार नै गरेको हो ।

आयोगले १३ भदौमा आचारसंहिता जारी गरिसकेको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापक लगायत विभिन्न सरोकारवाला पक्षले आचारसंहिता पालना गर्नुपर्ने आयोगले जनाएको छ ।

निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता, तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहितालाई सबैले पालना गर्नुपर्ने आयोगले जनाएको छ । आचार संहिताको परिच्छेद ३ मा नेपाल सरकार, प्रदेश सरकार, मन्त्री र स्थानीय कार्यपालिका तथा सोका पदाधिकारीले पालना गर्नुपर्ने आचरण उल्लेख छ ।

जसमा सरकार, मन्त्री र स्थानीय कार्यपालिकाका पदाधिकारीहरुले कुनै राजनीतिक दल वा उम्मेदवारहरुको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने उल्लेख छ । तर निर्वाचनमा आफैं उम्मेदवार भएका मन्त्रीले आफु उम्मेदवार भएको क्षेत्रमा प्रचार प्रसार गर्न पाउने भएपनि प्रचार प्रसारमा जाँदा सरकारी स्रोत साधनको प्रयोग गर्न पाउने छैनन् ।

त्यस्तै, बार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत बाहेक अन्य कार्यक्रम गर्न वा नीति, योजना वा कार्यक्रमको घोषणा, स्वीकृत र सञ्चालन गर्न पाउने छैनन् । तर, सरुवा रोगको महामारी वा प्राकृतिक विपद सिर्जना भएमा आयोगको स्वीकृतिमा त्यस्ता काम गर्न पाइनेछ । साथै कुनै राजनीतिक पदको सिर्जना नियुक्ती भत्ता बृद्धि, आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न नहुने पनि आयोगले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस