सप्तरीमा मुस्लिमलाई हिन्दु बनाएर नागरिकता दिएको खुलासा

राजविराज । सप्तरीमा मुस्लिम धर्मकी नक्कली छोरीलाई हिन्दु बनाएर नागरिकता जारी भएको खुलासा भएको छ । पछि बुवा (नागरिकताअनुसार) जिल्लाको छिन्नमस्ता गाउँपालिका–२ रम्पुराका वीरेन्द्र सुतिहारले पैसाको बाँडफाँड नमिलेपछि आफ्नी छोरी नरहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दिएपछि सो कुरा बाहिरिएको हो ।

गत साउनको दोस्रो साता आमा (नागरिकताअनुसार) सुशिलादेवी मण्डलले आफ्नी छोरी रहेको भन्दै सकिरा खातुनलाई सोनीकुमारी सुतिहारको नामले वडा कार्यालयबाट नागरिकता सिफारिस लिइन । सिफारिसअनुसार जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी देवु यादवमार्फत सुशिलाले सोनीकुमारीलाई लिएर सो कार्यालय पुगिन ।

‘नागरिकता जारी गर्नुअघि प्रशासकीय अधिकृत शिशिर घिमिरेले सोधपुछ सुरु गरे तर देवुले सोनीसँग आफ्नो लामो समयदेखि चिनजान रहेको भनेपछि नागरिकता जारी भयो’ श्रोतले भन्यो, ‘जिल्ला प्रशासन कार्यालयमा सघाउनका लागि देवुले मात्रै सोनीसँग ३० हजार रुपैयाँ लिएको रैंछ, थप अन्य कर्मचारीले पनि मोटो रकम लिएकै हो ।’

नागरिकता जारी भइसकेपछि बुवा र आमा भनिएका वीरेन्द्र र सुशिलाबीच सोनीसँग लिइएको पैसाको बाँडफाँड गर्ने विषयमा खटपट सुरु भयो । बिरेन्द्रले सुशिलासँग दोस्रो विवाह गरेका छन् भने हाल दुवै जना अलग अलग नै बस्ने गर्छन् ।

बाँडफाँड नमिलेपछि वीरेन्द्रले नै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको श्रोतले बतायो । यद्यपी, बिरेन्द्रले सो विषयमा बोल्न भने चाहेन । ‘सोनीसँग सुशिलाले पनि मोटो रकम लिएको रैंछ, वडा कार्यालयमा सिफारिसदेखि जिल्ला प्रशासन कार्यालयका केही कर्मचारी र कार्यालय सहयोगी देवुसम्मले रकम लिएरै काम गर्न गराउनमा सघाएका हुन्’ श्रोतले भन्यो ।

जिल्ला प्रशासन कार्यालयमा निवेदन आइसकेपछि तत्कालिन प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सिफारिस गर्ने वडा अध्यक्ष सिकेन्द्र साह र वडा सचिव, वीरेन्द्र, सुशिला र सोनीलाई झिकाएर सो नागरिकता जफत गरेका छन् । यद्यपी, नागरिकता फाँटका प्रशासकीय अधिकृत शिशिरको ठाउँमा राजु शर्मालाई हेरफेर गर्ने बाहेक हालसम्म अन्य कसैलाई पनि कारवाही भएको छैन् ।

वडा अध्यक्ष सिकेन्द्र साहले श्रीमान् श्रीमति मिलेर आफुहरुलाई झुक्याएर छोरीको नामले नागरिकता सिफारिस लिएको बताए । ‘नयाँ थिए धेरै कुरा थाहा पनि थिएन तर जनताको काम भने रोकिनु भएन भन्ने चाहना थियो, साउनको दोश्रो साता उनीहरुले झुक्याएर सिफारिस लिएको रैंछ’ उनले भने, ‘नागरिकता लिइसकेपछि वीरेन्द्र (सोनीका बुवा)ले नै गाउँले समक्ष मलाई झुक्याएर सिफारिस लिएको कुरा गरेको रैंछ अनि मलाई जानकारी भयो र नागरिकता रद्द हुनुपर्छ भन्दै सिडिओ सा’बकोमा पुगे ।’ उनले सिफारिस गरेर गलती गरेता पनि रकम भने एक रुपैयाँ पनि नलिएको दावी गरे ।

जिल्ला प्रशासन कार्यालयका यादवले सोनीसँग लामो समयदेखि चिनजान रहेकोले त्यसरी भनेको बताए । ‘सोनीसँग करिब १० वर्षदेखि चिनजाछ छ, त्यही कुरा हाकिम सा’बसमक्ष भनेको मात्रै हो । पैसा लिएर त्यो भनेको छैन्, पैसा लिएकै छैन् ।’ उनले भने ।

यता, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले सो नागरिकता जारी भएको विषयमा छानविन भइरहेको बताए । ‘त्यसरी नागरिकता कसरी जारी भयो? त्यो विषयमा छानविन हुँदैछ’ उनले भने, ‘केही कर्मचारीमाथि पनि आशंका छ र पुष्टि हुन आए त्यस्तालाई कारवाही हुनेछ ।’ आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको समाचार छ ।

Author:



क्याटोगरी छान्‍नुहोस