अशोक राई सुनसरी–१ बाट चुनाव लड्ने

राजविराज–जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट चुनाव लड्ने भएका छन् ।

नेकपा एमालेसँग जसपाले गरेको चुनावी तालमेलअनुसार राईलाई सुनसरी क्षेत्र नम्वर १ बाट उम्मेदवार बनाइएको जसपाका प्रवक्ता मनिषकुमार सुमनले जानकारी दिए ।

को हुन् राई ?

खोटाङ जिल्लाको किसान परिवारमा जन्मेका राई पुष्पलाल समूहबाट राजनीति थालेका हुन् । तत्कालीन कोर्डिनिसेन केन्द्रका नेता अमृत बोहराबाट २०३३ सालमा उनले पार्टीको सदस्यता लिएर तत्कालीन माले नेता मदन भण्डारीसँग १० वर्ष एउटै कमिटीमा काम गरे ।

मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकार (२०५१) मा उनी यातायातमन्त्री थिए भने २०५३ मा लोकेन्द्रबहादुर चन्दको प्रधानमन्त्रीकालमा संसदीय व्यवस्थामन्त्री र २०६१ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि स्वास्थ्यमन्त्री भए ।

२०५४ सालमा एमाले–माले विभाजन हुँदा उनी वामदेम गौतम नेतृत्वको मालेतिर लागे । २०६९ सालमा पहिचानको मुद्दा लिएर उनले एमाले छाडेर आफ्नै नेतृत्वमा संघीय समाजवादी पार्टी बनाए ।

दोस्रो संविधानसभामा प्रत्यक्षतिर शून्य नतिजा हात परेपछि राईले २०७२ सालमा उपेन्द्र यादव नेतृत्वको फोरमसँग एकता गरे । फोरमसँग एकता गरेपछि उनी वरिष्ठ नेता बने । २०७६ सालमा उपेन्द्र यादव नेतृत्वकै नवगठित समाजवादी पार्टीको वरिष्ठ नेता हुँदै पछिल्लो पटक डा.बाबुराम भट्टराईले जसपा छाडेपछि हाल उनी नेपालका संघीय परिषद् अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस