मधेश प्रदेश सरकारको उच्च प्राथमिकतामा शहिद परिवार

जनकपुरधाम – मधेश प्रदेश सरकारले आन्दोलन, सशस्त्र द्वन्द्व, जनआन्दोलन लगायतका आन्दोलनका शहिद परिवारलाई उच्च प्राथमिकताका साथ राहत, भरणपोषण, सीप विकास लगायतका कामहरु अगाडि बढाएको छ ।

पहिलो बैठकले शहिद परिवारका एक जनालाई रोजगारी दिने निर्णय मधेश प्रदेश सरकारले गरेको थियो । मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले शहिद परिवारलाई उच्च सम्मान गर्दै महत्वूर्ण कामहरु अगाडि बढाएका हुन् ।

मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका परिवारहरुको सेवा सुविधा एवम् व्यवस्थापनका लागि मधेश प्रदेश सरकारले गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत मधेशी शहिद प्रतिष्ठान गठन गरी नीतिगत रुपमा विभिन्न कामहरु अगाडि बढाएको अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए । उनका अनुसार २०७८ वैशाख २ गतेको मन्त्री परिषद्बाट प्रतिष्ठानको गठन भएको हो ।

गृह तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको प्रतिष्ठानले विभागीय मन्त्री भरत प्रसाद साहको अभिभावकीय भूमिकामा उल्लेखनीय कामहरु भएको प्रतिष्ठानका कार्यकारी निर्देशक छठु चौधरीले बताए । उनका अनुसार २०७८ माघ ५ गते राजविराजमा भब्य समारोहका बीच बलिदानी दिवस मनाईएको छ । जसमा मधेस आन्दोलनका ६३ सहिद परिवारलाई सम्मान सहित जनही तीन लाख रुपैयाँका दरले चेक हस्तान्तरण गरिएको छ । मधेश आन्दोलनका क्रममा घाइते भएका ७२ जनालाई सम्मानपत्र सहित पच्चीस हजारदेखि तीन लाख रुपैयाँसम्मको चेक हस्तान्तरण गरिएको कार्यकारी निर्देशक चौधरीले जानकारी दिए ।

यसैगरी २०७८ फागुन २० गते मधेश भवन परिषरमा जनयुद्ध दिवस मनाईएको र सोही कार्यक्रममा जनयुद्धका शहिद परिवारलाई राहत सहित सम्मान गरिएको प्रतिठानका सदस्य रामननरेश राय यादवले जानकारी दिएका छन् । उनका अनुसार सम्बन्धित जिल्लामै पुगेर हालसम्म ५ सय ४३ जना जनयुद्धका शहिद परिवारलाई सम्मान सहित जनही एक लाख रुपैयाँका दरले राहत वितरण गरिएको छ ।

प्रतिष्ठानले शहिद परिवारलाई आर्थिक उन्नतिका लागि भत्ता सहित सीप विकास तालिम दिईएको उनले बताए । प्रतिष्ठानका सदस्य यादवका अनुसार शहिद परिवारलाई मासिक रुपमा जनही २१ हजार रुपैयाँका दरले भरणपोषण भत्ता दिने कार्य सम्बन्धी प्रक्रिया शुरू भईसकेको छ । शहिदका सन्तानलाई छात्रवृत्ति दिने निर्णय समेत भईसकेको छ । यसका साथै शहिदहरूको सम्झनामा शहिदपार्क, शहिद स्तम्भ निर्माण लगायतका कार्यहरू सञ्चालनमा रहेको उनले जानकारी दिएका छन् ।

यतिमात्र होइन, मधेश प्रदेश सरकारले माघ ५ गते बलिदानी दिवस र फागुन २० गते जनयुद्ध दिवसमा बिदा दिने निर्णय समेत गरेको छ । मधेश प्रदेश सरकारले स्वामित्व ग्रहण गर्दै दुवै दिवस मनाउँदै आएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस