सप्तरी–४ मा कांग्रेसका चौधरी लगातार तेस्रो पटक निर्वाचित

राजविराज – सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरी निर्वाचित भएका छन् ।

चौधरीले जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवलाई ५ हजार ५१४ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । योसँगै चौधरी लगातार तेस्रो पटक प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

चौधरीले २३ हजार ४९१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १७ हजार ९७७ मत ल्याएका हुन् । चौधरीले यसअघि २०७० र २०७४ सालमा पनि चुनाव जितेका थिए ।

यो परिणामसँगै प्रतिनिधि र प्रदेशसभा निर्वाचनअन्तर्गत सप्तरीमा प्रत्यक्षतर्फको मतगणना सकिएको छ । चार वटा प्रतिनिधिसभा क्षेत्र रहेको सप्तरीमा क्षेत्र नम्बर १ मा जसपाका नवलकिशोर साह,२ मा जनमतका सीके राउत ३ मा कांग्रेसका दिनेशकुमार यादव र ४ मा काग्रेसकै तेजुलाल चौधरी विजय भएका छन् ।

कुल ८ प्रदेशसभा क्षेत्रमध्ये जनमत पार्टीले ४ तथा कांग्रेस, एमाले, नेकपा एस र स्वतन्त्रले एक–एक स्थानमा जित निकालेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस