मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त सुरुङ्गा नगर

राजविराज, १४ मंसिर । सप्तरीको सुरुङ्गा नगरपालिकालाई बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको छ । बुधवार एक समारोहको आयोजना गरी बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको हो ।

घोषणासँगै सो नगरपालिका मधेश प्रदेशकै पहिलो बालविवाह मुक्त नगरपालिका भएको छ । कुल ४९ हजार ६ सय ६८ जनसंख्या रहेको सो नगरपालिकालाई १४ वटा सूचकको आधारमा बालविवाह मुक्त नगरपालिका घोषणा गरिएको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत गजेन्द्रनाथ शर्माले जानकारी दिए ।

नगरपालिकाको बालविवाह मुक्त अभियान सञ्चालन निर्देशिका, २०७९ मा उल्लेखित सूचकमा ९० प्रतिशतभन्दा बढी अंक हासिल भएपछि बालविवाह मुक्त नगर घोषणा गरिएको उनले समारोहमा बताए । उनअनुसार नगरमा विवाहका घटनाहरुको तथ्यांक तथा अभिलेख चुस्तदुरुस्त राखेको हुनुपर्ने, बाल संरक्षण संयन्त्र बनेको हुनुपर्ने र नीति बनाएर लागू गरेको हुनुपर्ने, सबै बालबालिकाहरुको अनिवार्य जन्मदर्ता गर्ने गरिएको हुनुपर्ने लगायतका १४ वटा सूचकको आधारमा नगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिएको हो ।

कुल ११ वटा वडा रहेको नगरपालिकामा सन् २०१९ मा २ सय ४१ जनाले विवाह गरेका थिए । जसमध्ये १३ जना १८ वर्ष मुनिका र २१ जना २० वर्ष मुनिकाले विवाह गरेका थिए ।

त्यस्तै, सन् २०२० मा ३१८ जनाले विवाह गरेकामध्ये ७ जना १८ वर्ष मुनिका तथा ३ जना २० वर्ष मुनिकाले विवाह गरेका थिए । सन् २०२१ मा १ सय ४ जनाले विवाह गरेकामध्ये ६ जना १८ वर्ष मुनिका र २ जना २० वर्ष मुनिकाले विवाह गरेका थिए । त्यस्तै, सन् २०२२ मा ३ सय ३५ जनामध्ये १ जना १८ वर्ष मुनिकाले विवाह गरेका थिए भने सो वर्षमा २० वर्ष मुनिकाले विवाह गरेको संख्या शून्य रहेको नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत शर्माले प्रस्तुत गरेका प्रतिवेदनमा उल्लेख छ ।

यद्यपी, सो वर्षमा २० वर्ष मुनिका उमेरकी वेहुली, भागी जाने वा भागी ल्याउने र अन्य जिल्लामा विवाह गरेका १८ जना अर्थात ५ दशमलव ३७ प्रतिशत रहेका छन् । सेभ द चिल्ड्रेन र सबल नेपालको साझेदारी तथा नगरपालिकाले आयोजना गरेको समारोहमा प्रमुख अतिथी क्षेत्र नम्वर ४ का नवनिर्वाचित सांसद तेजुलाल चौधरी र नगर प्रमुख गीता चौधरीले अध्यक्षता गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस