समानुपातिक मतगणना अपडेट : कति दलले पाउलान् राष्ट्रिय मान्यता ?

जनकपुरधाम । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फ नेपाल कम्युनिष्ट पार्टी एमाले २६ लाख ९४ हजार १ सय २४ मतका साथ पहिलो स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २५ लाख ४८ हजार ७ सय ७८ मत पाएको छ ।

तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रले ११ लाख ४३ हजार ५ सय ३ तथा चौंथौ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ९८ हजार १ सय ७१ मत पाएको छ । ५ लाख ७० हजार १ सय २ मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा रहँदा जनता समाजवादी पार्टी ३ लाख ८८ हजार ४ सय ८२ मतका साथ छैठौँ स्थानमा छ ।

सातौँ स्थानमा जनमत पार्टीले ३ लाख ४६ हजार ९ सय ७० मत पाएको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी २ लाख ८१ हजार ३ सय ४८ मतका साथ आठौँ स्थानमा रहँदा नवौँ स्थानमा नागरिक उन्मुक्ति पार्टीले २ लाख ४७ हजार ७ सय १ मत पाएको छ ।

यो निर्वाचनमा जम्मा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब एक करोड नौ लाख हाराहारीमा मत खसेको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा प्रतिनिधिसभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ खसेको सदर मतको कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने उल्लेख छ ।

प्रतिनिधिसभामा एक सिट प्रत्यक्षसहित समानुपातिकतर्फ कम्तीमा तीन लाख हाराहारी मत प्राप्त गर्ने दलले मात्रै यस निर्वाचनमा राष्ट्रिय दलको मान्यता पाउने देखिन्छ । अहिलेसम्म ९९ लाख ९३ हजार ५ सय ६८ मतगणना हुँदा सात दलले ‘थ्रेस होल्ड’ सीमा पार गरिसकेका छन् ।

एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा नेपाल र जनमत पार्टीले गणना भएको मतबाट तीन प्रतिशत भन्दा बढी मत कटाएका छन् ।

२०७४ को प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाँच दलले निर्वाचन ऐनले तोकेको थ्रेस होल्ड पार गरी राष्ट्रिय दलको मान्यता पाएका थिए । सो निर्वाचनमा एमाले, कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र सङ्घीय समाजवादी फोरम नेपालले राष्ट्रिय मान्यता प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा एमालेले ३१ लाख ७३ हजार चार सय ९४, कांग्रेसले ३१ लाख २८ हजार तीन सय ८९, माओवादी केन्द्रले १३ लाख तीन हजार सात सय २१, राजपा नेपालले चार लाख ७२ हजार दुई सय ५४ र सङ्घीय समाजवादी फोरम नेपालले चार लाख ७० हजार दुई सय एक मत प्राप्त गरेका थिए ।

उक्त निर्वाचनमा प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले ४१, कांग्रेसले ४०, माओवादी केन्द्रले १७, राष्ट्रिय जनता पार्टी नेपालले छ स्थान र सङ्घीय समाजवादी फोरम नेपालले छ सिट प्राप्त गरेको आयोगको तथ्याङ्क छ ।

Author:



क्याटोगरी छान्‍नुहोस