सिडिओ कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली सुचारु

राजविराज – सेवा प्रवाहमा सहजता ल्याउन जिल्ला प्रशासन कार्यालय सप्तरीमा ‘टोकन’ प्रणाली सुरु गरिएको छ । शुक्रवार आयोजना गरिएको एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले ‘टोकन’ प्रणालीको उद्घाटन गरेका छन् ।

उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी थापाले कार्यालयबाट नागरिकलाई प्रदान गरिने सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनका लागि टोकन प्रणाली सुरु गरिएको बताए ।

‘टोकन प्रणालीले सेवालाई थप सहज र व्यवस्थित एवम् अनावश्यक झन्झटको अन्त्य हुने हाम्रो अपेक्षा छ’ उनले भने, ‘यसअघि हुँदै आएको अव्यवस्थित भीडभाडलाई जति व्यवस्थित गर्ने प्रयास गर्दै आए तापनि पूर्ण व्यवस्थित हुन सकेको थिएन, जसका कारणले सेवाग्राहीलाई असहजताको सामना गर्नु परेको थियो तर अबदेखि सहजताका साथ सेवा पाउनुहुन्छ ।’

उनले पालैपालो टोकन लिएर आफुलाई काम रहेको शाखामा गएर सेवा लिन सेवाग्राहीसँग आग्रह समेत गरे । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार टोकनका लागि जडान गरिएको मेसिनमा ‘राष्ट्रिय परिचयपत्र’, ‘राहदानी’, ‘नयाँ नागरिकता’, ‘अन्य’ र ‘नागरिकताको प्रतिलिपी’ गरी पाँच वटा विकल्प राखिएको छ । त्यसमध्ये आफुलाई चाहिएको सेवाको विकल्पलाई थिचेर टोकन लिई सेवा लिनसक्ने उनले जानकारी दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्की, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देव, जिल्ला प्रशासन कार्यालयका कर्मचारी लगायतको उपस्थिती थियो ।

 

Author:



क्याटोगरी छान्‍नुहोस