उद्योगी–व्यवसायीलाई घरभाडामा सहुलियत गरिदिन अध्यक्ष अग्रवालको आग्रह

राजविराज – सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष लालबाबु अग्रवालले आर्थिक मन्दीका कारण उद्योगी–व्यवसायीको अवस्था दयनीय भइसकेकोले केही समयका लागि बाँकी बक्यौंता र घरभाडामा सहुलियत गरिदिन घरधनीहरुसँग आग्रह गरेका छन् ।

उनले घरभाडामा लिएर व्यवसाय सञ्चालन गर्दै आएका जिल्लाका अधिकांश उद्योगी–व्यवसायीलाई भाडा तिर्न समेत समस्या हुँदै आएको बताए । ‘हाल आर्थिक मन्दी र बैंकको बढ्दो ब्याज दरले यहाँका उद्योगी–व्यवसायी अत्यन्तै समस्याबाट गुज्रिरहेका छन्’ उनले भने, ‘एकातिर उद्योग–व्यवसाय राम्ररी चलेको छैन, अर्कोतिर बैंकको ब्याजदर बढ्दो छ ।’

हाल यहाँका अधिकांश उद्योगी–व्यवसायीलाई घरभाडा तिर्नेसम्म अवस्था नरहेको उनले दुखेसो गरे । ‘कर्मचारीको तलब दिन सकिरहेका छैनन्, बाँकी बक्यौंता र घरभाडा तिर्न कम्तिमा ६ महिनाको लागि समय दिन सम्पूर्ण घरधनीसँग आग्रह छ ।’

अध्यक्ष अग्रवालले आर्थिक तनाव झेल्न नसकेर कतिपय उद्योगी–व्यवसायी पलायन भइसकेको र कतिपय पलायन हुने अवस्थामा पुगिसकेको बताए । ‘सहनसक्ने ठाउँ छ भन्ने बाँकी बक्यौंतामा २५ प्रतिशत राहत गरिदिन पनि आग्रह गर्दछु, अनि मात्रै केही हदसम्म उद्योगी–व्यवसायीलाई राहत हुनेछ’ उनले भने ।

उनले खुल्ला सीमानाका कारण अहिले १० प्रतिशत मात्रै उपभोक्ता किनमेल गर्न आइरहेको पनि बताए । ‘खुल्ला सिमानाले हाल ९० प्रतिशत उपभोक्ताहरु पारी गएर नै किनमेल गर्छन्, जसका कारणले यहाँका व्यापार चौपट भएको छ, ३ महिनायता डेढ सयबढी पसलहरु बन्द भइसक्यौं’ उनले भने, ‘यही अवस्था रहिरह्यो भन्ने अबको दिनमा अन्य पसलहरु बन्द हुने निश्चित छ ।’

उनले उद्योगी–व्यवसायीहरुलाई बस्ने वातावरण मिलाइ सहयोग गरिदिन प्रहरी–प्रशासनदेखि सम्पूर्ण सरोकारबालासँग आग्रह समेत गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस