राजविराजमा अनुगमन थालेपछि औषधि व्यवसायीको भागाभाग (फोटोफिचर)

राजविराज – सरकारी अनुगमन टोलीले राजविराजमा अनुगमन सुरु गरेसँगै अधिकांश औषधि व्यवसायीहरु भागाभाग भएका छन् ।

शुक्रवार राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविन, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव लगायतका अनुगमन टोलीले राजविराजका औषधि पसल तथा क्लिनिकमा छड्के अनुगमन सुरु गरेका थिए ।

अनुगमन सुरु गरेसँगै अधिकांश औषधि पसल र क्लिनिकहरु बन्द गरी व्यवसायीहरु भागाभाग भएका हुन् । पसल तथा क्लिनिकहरु बन्द हुँदा अनुगमन समेत प्रभावकारी हुन सकेन ।

प्रमुख जिल्ला अधिकारी थापाले अनुगमनको क्रममा बन्द देखिएका औषधि पसल र क्लिनिकका सञ्चालकलाई पत्र काटेर कानूनी प्रक्रिया अघि बढाइने बताए । ‘योसँगै हामीले अनुगमन कार्यलाई निरन्तरता दिने छौं’, उनले भने ।

त्यस्तै, अनुगमनकै क्रममा केही औषधि पसलमा बिल दुरुस्त नराख्ने र म्याद गुज्रेका औषधिहरु पाइएको उनले बताए । ती पसलका सञ्चालकहरुमाथि कानूनी प्रक्रिया अघि बढाउन आवश्यक कागजातसहित उपस्थित हुन भनिएको जनाएको छ ।

अनुगमन टोलीमा सप्तरीका प्रहरी प्रमुख नरेन्द्रकुमार कार्की, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, करदाता सेवा कार्यालय राजविराजका प्रमुख लगायतको सहभागीता थियो ।

तस्बिरः विद्यानन्द राम/मधेशलाइभ

Author:



क्याटोगरी छान्‍नुहोस