कोलेनिकाको जग्गा कब्जा प्रकरण : नापजाँच गर्न निर्देशन दिँदा पनि टेरेनन् कर्मचारीले

राजविराज, १५ साउन । व्यक्तिले कब्जा जमाएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी, राजविराजको जग्गा नापजाँच गर्न जनप्रतिनिधिले निर्देशन दिँदा पनि कर्मचारीले अटेर गरेको पाइएको छ ।

सो विषय बाहिरिएसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ भने सोही क्रममा आयोगले गत चैत्रको दोस्रो साता राजविराज नगरपालिकासँग आवश्यक कागजातसहितको विवरण माग गर्दै पत्राचार समेत गरेको थियो ।

पत्र पाएसँगै नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले सो जग्गाको स्थलगत नापजाँच गरी सात दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्न ईन्जिनियर राजकुमार देवलाई निर्देशन दिएकी छन् । तर, तीन महिना वितिसक्दा समेत ईन्जिनियर देवले विस्तृत प्रतिवेदन पेस गरेको छैन् ।

‘आयोगको पत्र आएसँगै सो जग्गाको स्थलगत नापजाँच गरी प्रतिवेदन पेस गर्न भनेको थिए’ उनले भनिन्, ‘म ईन्जिनियरसँग बुझ्दैछु ।’

प्राप्त प्रमाणअनुसार कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरी, राजविराजको नाममा रहेको राजविराज नगरपालिका वडा नम्वर ७ को कित्ता नम्वर ९० मा ६ कठ्ठा ६ धुर जग्गाको श्रेष्ता कायम रहेको छ । तर, हाल सो कार्यालयले ३ कठ्ठा जति जग्गा मात्रै उपभोग गर्दै आएको छ ।

‘कार्यालयभन्दा दक्षिणतर्फको ३ कठ्ठाभन्दा बढी जग्गामाथि स्थानीय उज्जवल झाले कब्जा जमाएर दुई तल्लेसम्म पक्की घर नै ठड्याएका छन् भने राजविराज बजारको मुटुमा रहेको सो सरकारी जग्गामाथि वर्षौदेखि कब्जा जमाएर बस्दा समेत कार्यालय वा नियमनकारी निकायहरुको ध्यान पुगेको छैन्’, श्रोतले भन्यो, ‘सो सरकारी जग्गा कब्जामा लिएर बनाइएको पक्की घरसहितको सटरहरु पनि भाडामा लगाएर मासिक लाखौं रुपैयाँ उठाइरहेका छन् ।’

प्रतिवेदनबारे ईन्जिनियर देवसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन । नगरपालिकाका प्रवक्ता जयनारायण मण्डलले जग्गाको नापजाँच गर्न जिम्मेवारी दिइएका कर्मचारी देश बाहिर गएकाले प्रतिवेदन तयार भए–नभएको विषयमा यकिन गर्न नसकिएको बताए । ‘उहाँ काम विशेषले भारत जानुभएको छ, केही दिनभित्रै फर्किने कुरा छ, आएसँगै हामी प्रतिवेदनबारे सोधखोज गर्नेछौं’ उनले भने, ‘प्रतिवेदन तयार नगरेको पाइए स्पष्टीकरण सोध्ने र नियमअनुसार अघि बढ्नेछौं ।’

कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका प्रमुख कोष नियन्त्रक शरणहरि लुइटेलले पनि कार्यालयको जग्गा नपुग रहेको बताउँदै आएका छन् । ‘हाम्रो जग्गा ६ कठ्ठा ६ धुर नै हो तर त्यति जग्गा हाम्रो उपभोगमा छैन्, कार्यालयदेखि दक्षिणतर्फ हाम्रो जग्गा गएको हो कि भन्ने लाग्छ’, उनले भने ।

सो विषयमा प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले सो विषयमा आयोगले छानविन गरिरहेको बताउँदै निरुपण नभएसम्म तत्कालै केही गर्न नमिल्ने प्रतिक्रिया दिएका छन् । आजको नेपाल समाचारपत्रबाट

Author:



क्याटोगरी छान्‍नुहोस