श्यामसुन्दर यादव
२०८० साल साउन ०९ गते मङ्गलबार । कलाप्रेमीहरुका लागि दुःखद दिन अर्थात सप्तरी जिल्लाको कलाक्षेत्रका एक कुशल अभिभावक कल्पना सरकारलाई गुमाएको दिन । विगत चार दशकदेखि राजविराज नगरपालिकामा बसोबास गर्दैआएकी उनले दर्जनौं कलाकारलाई अभिभावकत्व प्रदान गर्दैआएकी थिईन् । बाल्यकालदेखि नै कलाक्षेत्रमा रमाउँदै आएकी कल्पनाको ६४ वर्षको हृदयघातका अल्पायुमा भएको निधनले समग्र कलाकारिता क्षेत्रलाई अपुरणीय क्षति भएको छ ।
सङ्घर्षमय जीवन
जीवनको कलकलाउँदो उमेरमा कल्पना आफ्ना पति मिहिरचन्द्र सरकारका साथ सप्तरीको राजविराजमा रहेर सङ्घर्षमय जीवनलाई अगाडि बढाएकी थिईन् । कल्पनाका पति त्यतिबेलाका कहलिएका जादुगरमा गनिन्थे । चरम गरिबीको मार खेप्दैआएका सरकार दम्पत्तीको शुरुका दिनमा आयआर्जनको मुख्य श्रोत थियो जादूगरी । एमसी सरकारका नामले चर्चित जादूगरको सङ्घर्षयात्राका सहयात्री बन्ने गर्थिन् कल्पना । उनको जादू प्रसिद्ध हुँदै गयो ।
त्यतिबेला ढिक्के नुनको प्रचलन थियो । दातृ निकायको सहयोगमा आयोडिनयुक्त नुनको प्रचार गर्ने जिम्मा एमसी सरकारले पायो । त्यसपछि उनले जादूको माध्यमले मधेश मात्र नभई हिमाल र पहाडका जिल्लाहरु पुगेर आयोडिनयुक्त नुन तथा भिटामिनको विषयमा सर्वसाधारण जनतालाई सचेत बनाउने काममा लागिरहे । यता कल्पना राजविराजमै सङ्घर्ष गर्दै रहिन् ।
उनी सानैदेखि नृत्य तथा अभिनयमा सिपालु थिईन् । राजविराजमा आयोजन हुने सांस्कृतिक कार्यक्रमहरुमा उनले प्रस्तुति देखाउन थालिन् । विस्तारै कल्पना चर्चित हुँदै गईन् । तर त्यतिबेला कमै मात्र सांस्कृतिक कार्यक्रमहरु आयोजना हुन्थ्यो ।
उनको काँधमा बच्चाहरु हुर्काउने जिम्मेवारी थपिदै गयो । जेठो पंकज, माइलो पार्थो र कान्छी छोरी डोलीको भरणपोषण एवम् शिक्षादिक्षाको प्रबन्धका साथै कलाक्षेत्रलाई विस्तार गर्ने कार्यलाई बडो कुशलताकासाथ निर्वहन गर्दै गईन् ।
चार वर्षकी कलिली छोरी डोलीलाई उनले पहिलो पटक मञ्चमा नृत्यका लागि उतारिन् । पहिलो मञ्च नै डोलीका लागि यादगार रह्यो । आफ्नी आमाबाट प्रशिक्षित डोलीको नृत्यको चर्चा चौतर्फी फैलिन थाल्यो । त्यसपछि त कुनै पनि साँस्कृतिक कार्यक्रमका लागि डोली ब्राण्ड नै बनिन् । पंकज पनि गायन र पार्थो नृत्यमा सक्रिय भए । त्यतिबेला छोरीहरुलाई स्टेजमा नाच्न एक किसिमको वर्जित जस्तै थियो । सांस्कृतिक कार्यक्रमहरुमा पुरुष नै महिला बनेर स्टेजमा नृत्य तथा अभिनय गर्ने गर्दथे ।
यस्तो अवस्थामा कल्पना आफै पनि मञ्चहरुमा कत्थक नृत्य गर्ने गर्दथिन् । छोरी डोली जब स्टेजहरुमा नृत्य गर्न थालिन्, तब शिक्षित छोरीहरु सिक्नका लागि कल्पना र डोलीको सम्पर्कमा आउन थालिन् । उनले समाजका छोरीहरुलाई अभिभावकत्व प्रदान गर्दै नृत्य सिकाउन थालिन् । त्यसपछि नृत्य तथा अभिनय क्षेत्रमा दर्जनौ छोरीहरु आईन् । सांस्कृतिक कार्यक्रमहरुमा बाहिर जानुपर्दा छोरीहरुको जिम्मा लिएर आमा झैं भूमिका निर्वाह गर्थिन् ।
समाजमा व्याप्त विकृतिहरु चिर्न शुरुका चरणमा कल्पनाले छोरा पार्थो र छोरी डोलीलाई नृत्यहरुमा सँगै उतार्न थालिन् । पछि ड्युवेट नृत्यमा अन्य छोरीहरु समेत विस्तारै मञ्चमा आउन थालिन् । लगभग साढे दुई दशकसम्म कल्पनाको घर गायन तथा नृत्यको प्रशिक्षण केन्द्र नै थियो । कल्पनाको प्रशिक्षण केन्द्रमा कसैलाई एक रुपैयाँ तिर्नु पर्दैनथ्यो । अहिलेका ठूलाठूला गायकगायिका तथा कलाकारहरु कल्पनाकै प्रशिक्षण केन्द्रका उत्पादन हुन भन्दा अन्यथा हुँदैन ।
नाम चलेका मैथिली, भोजपुरी, नेपाली, हिन्दी, बङ्गालीका गायक, गायिका, गीतकार, सङ्गीतकार, लेखक साहित्यकार वा सङ्गीतसाधकहरु कल्पनाले कलाक्षेत्रमा दिएको योगदानका साक्षी छन् । घरमा सिक्न सिकाउन आउनेहरुलाई समेत उनी चियाको ट्रे बोकेर आफै आईपुग्थिन । आर्थिक चरम मार खेपिरहँदा पनि सधैं मुस्कुराएर कलाकारहरुलाई प्रोत्साहन गर्दै रहिन् । सरस्वतीरुपी कल्पनाको घर कलाकारिता सिकाउने खुल्ला विद्यालय जस्तै थियो ।
कल्पनालाई ईश्वरले पटक–पटक परीक्षा लिईरह्यो । तर उनले कहिल्यै हिम्मत हारिन । अल्पायुमै पति एमसी सरकारको निधनले उनीमाथि थप बज्रपात पर्यो । छोराछोरीहरु विद्यालय शिक्षा पुरा गर्न लागेको अवस्था थियो । बडो कुशलता साथ उनी मैनबत्ती झैं आफु जलेर प्रकाश दिईरहिन् । बाबा गुमाएको अनुभूति छोराछोरी कहिल्यै हुन दिएन । बच्चाहरुलाई असल संस्कारमा हुर्काउन सदैव प्रयासरत रहिन् ।
कसैलाई एल्बम बनाउनुपर्यो, गीत रेकर्डिङ्ग गर्नुप्यो, सिरियल बनाउनुप्यो, सिनेमा बनाउनुपर्यो, कुनै ठूला सांस्कृतिक कार्यक्रमम आयोजना गर्नुपर्यो वा कलाक्षेत्रसँग सम्बन्धित कुनै नयाँ काम थालनी गर्नुपर्याे भने सरकारको निवास नै मूल निर्णायक थलो बन्ने गर्दथ्यो । दर्जनौ सिरियल, एल्बम, सिनेमाहरुमा कल्पनाको प्रत्यक्ष संलग्नता रहेको छ ।
प्राथमिकतामा मैथिली
सरकार परिवारको मूल संस्कार बङ्गाली हो । उनीहरु घरमा बङ्गालीमा कुरा गर्दथे । यस अतिरिक्त कल्पना र उनको परिवारको प्राथमिकतामा मैथिली र नेपाली नै रह्यो । सांस्कृतिक कार्यक्रमहरुमा समेत उनले मैथिलीका पारम्परिक गीतहरु प्रोत्साहन गर्ने गर्दथे । मैथिली कार्यक्रमको नाममा उनी र उनका परिवार गाउँगाउँ पुगेर कलाक्षेत्रको अलख जगाएका छन् ।
विद्यापति पर्व समारोहका झाँकीहरुमा वर्षौसम्म पंकज, पार्थो र डोलीले साथ दिएकी छिन् । कुनै पनि कार्यक्रमको शुरुवातमा विद्यापति गीत तथा स्वागत गीतमा डोलीको नृत्य ट्रेड जस्तै बनिसकेको थियो । दर्जनौं मैथिली म्युजिक भिडियोहरुमा विना पारिश्रमिक पनि काम गरेकी छिन् भने कतिपय म्युजिक भिडियोहरुमा लगानी समेत गरेकी छिन् । डोलीले गायिका अन्जु यादव समेतको सहकार्यमा जननी फिल्म्स नामक कम्पनी समेत दर्ता गराएर एक दर्जन जति म्युजिक भिडियोहरु समेत बनाएकी छिन् । हरेक गतिविधिमा कल्पनाको ठूलो योगदान छ । हाल पनि चर्चित मोडेल डोलीमा मैथिली मोह घटेको छैन ।
कल्पनाका पछिल्ला दिन
सरकार परिवारका मुख्य अभिभावक कल्पना आफ्ना छोराछोरीलाई आफ्नो खुट्टामा उभिएको देख्न चाहन्थिन् । जेठो छोरा पंकज एनजिओमा आवद्ध रही समाजसेवामा छन् । पार्थो सामाजिक तथा राजनीतिक क्षेत्रमा प्रगति गरेको देखेर खुशी थिईन् । छोराहरुको समेत विवाह सम्पन्न गरी एक कुशल अभिभावकको भूमिका निर्वाह गरेकी छिन् । तर छोराहरु सरकारी जागिर गरेको उनी देख्न चाहन्थिन् ।
२०७६ माघमा डोलीको विवाह भईसकेपछि उनी खुशी थिईन् । तर अत्यन्तै माया गर्ने छोरी विवाह गरेर अमेरिका गईसकेपछि आमा कल्पनालाई डोलीको अभाव महशुष भईरहन्थ्यो । तर डोलीसँग फोनमा निरन्तर कुरा भईरहन्थ्यो ।
डोली विवाह गरेर अमेरिका गईसकेपछि कलाक्षेत्रका लागि सुखद् रहेन । उनको अनुपस्थिति मात्रले विस्तारै कलाक्षेत्र शिथिल हुँदै गयो । एक हिसाबले कलाकार उत्पादन कार्यमा नै विराम लाग्न पुग्यो भन्दा दुईमत नहोला । कलाक्षेत्रमा देखिएको शिथिलताप्रति उनी चिन्तित रहँदैआएकी थिइन् । डोली राजविराजमा हुँदा दैनिकजसो कलाक्षेत्रका नाम चलेका व्यक्तिहरुको आउजाउ भईरहन्थ्यो । डोलीको प्रवासले गर्दा सप्तरीको कलाक्षेत्रमा एक किसिमको माहोल नै भताभुङ्ग हुनपुग्यो ।
केही वर्षदेखि विरामी रहँदै आएकी उनी अमेरिकामा रहेकी छोरी–ज्वाइँकहाँ भेट्न जाने तयारीमा थिईन् । पछिल्लोपटक मुटुमा समस्या भएर उनी अचानक विरामी परेकी थिईन् । उनलाई बचाउन छोराबुहारीहरुले हरसम्भव प्रयास गरे तर ईश्वरको लीलालाई टार्न सकिएन । बिराटनगर स्थित न्यूरो अस्पतालमा अन्तिम सास लिँदै सदाका लागि विदा भईन् ।
उनी कलाकारहरु माझ कल्पना अन्टीको नामले परिचित थिईन् । जस्तोसुकै कठिन मोडहरुमा आफ्नो शाखलाई झुक्न दिएन । उनी सधैं आफूलाई अभिभावकको रुपमा हिमाल झैं अटल राख्न सफल रहिन् । डोलीलाई कलाक्षेत्रमा पहिचान बनाउन तथा कुशल नायिकाको परिचय दिलाउनमा आमा कल्पनाकै ठूलो योगदान छ । प्रायःजसो कार्यक्रमहरुमा उनले डोली र गायिका अन्जुको अभिभावकको रुपमा आफुलाई उभ्याउने गर्थिन् । अन्य कलाकारहरुलाई समेत उनले आफ्नै सन्तान सरह मान्ने गर्थिन् ।
कल्पनाले हिन्दी फिल्म खुनी पायल, दर्जन बढी म्युजिक भिडियो, टेलिसिरियल सिंङ्गीमुङ्गी सहित आधा दर्जन मैथिली एवम् भोजपुरी फिल्महरुमा समेत भूमिका निर्वाह गरेकी छिन् ।
जीवनको एक मात्र सास्वत सत्य मृत्यु हो, यसलाई चाहेर पनि कसैले टार्न सक्तैनन् । कल्पना अन्टी अर्थात वरिष्ठ कलाकार कल्पना सरकारको निधनले कलाक्षेत्रले कुशल अभिभावक गुमाएको छ । सप्तरीको कलाक्षेत्रको उन्नयनमा निश्चय अल्पविराम लागेको छ । उनकै छत्रछायामा हुर्किएका कलाकारहरु नेपाल सहित अन्य देशहरुमा रहेर पनि कलाक्षेत्रमा योगदान दिईरहेका छन् । कल्पना सरकारले कलाक्षेत्रमा पुर्याएको योगदान सदैव अविस्मरणीय रहनेछ । महान आत्मालाई भावपूर्ण श्रद्धाञ्जली ।
(लेखक, आमसञ्चार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष हुन् )