सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

जनकपुरधाम– बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आइतवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज मरासेनी, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीसहित ५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

मुद्दा दायर हुने अन्यमा जनता मावि भवन निर्माण समितिका अध्यक्ष रामबाबुप्रसाद यादव, सचिव रामाकान्त प्रसाद र कोषाध्यक्ष किरणदेवी यादव छन् । उनीहरूले मधेश प्रदेश सरकारको अनुदानबाट संचालित योजनाहरूमध्ये सिम्रौनगढ नगरपालिका–८ कचोर्वास्थित जनता माविको भवन निर्माणमा अनियमितता गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रमुख प्रशासकीय अधिकृत मरासेनी र लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले प्राविधिकले तयार गरेको मूल्यांकन र भुक्तानीलाई स्वीकृत भएको टिप्पणीमा उल्लेख भएको भन्दा बढी रकम भुक्तानी दिएको खुलेको अनुसन्धानको क्रममा पाइएको हो । परिणामभन्दा ६ लाख ५८ हजार ४४० रुपैयाँ बढी भुक्तानी दिएर सरकारी रकमको हानिनोक्सानी भएको अख्तियारले जनाएको छ ।

यस्तै जनता मावि भवन निर्माण समितिका अध्यक्ष यादव, सचिव प्रसाद र कोषाध्यक्ष यादवले उपभोक्ता समितिको बैंक खाता सञ्चालन गरेको र नगरपालिकासँग भएको सम्झौता बमोजिम शर्त पालना नगरी स्वीकृत भएकोभन्दा बढी रकम भुक्तानी लिएको अख्तियारले ठहर गरेको छ ।

सोही रकम बराबरको बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९को दफा ८ को उपदफा ९४० वमोजिम सजाय गरी बिगो समेत जफत हुन मागदाबी लिई मुद्दा दायर गरिएको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस