दिनानुदिन बढ्दो भ्रष्टाचार : सप्तरीका चार स्थानीय तह प्रमुख विहीन 

प्रवेश मिश्र 
राजविराज–पछिल्लो स्थानीय तह निर्वाचन भएको डेढ बर्ष नवित्दै सप्तरीमा ४ वटा स्थानीय तह प्रमुख विहीन बन्न पुगेको छ ।

कुल १८ वटा स्थानीय तह रहेको जिल्लाका ४ वटा स्थानीय तह हाल कार्यवाहककै भरमा सञ्चालन हुँदै आएको छ । जिल्लाको राजविराज, शम्भुनाथ र बोदेबरसाईन नगरपालिका तथा बिष्णुपुर गाउँपालिका कार्यवाहककै भरमा सञ्चालन हुँदै आएको छ ।

स्थानीय तह प्रमुखमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरेसँगै हाल उनीहरू निलम्बित छन् । प्रमुख निलम्बित भएपछि स्थानीय तहको नेतृत्व उप–प्रमुख/उपाध्यक्षले कार्यवाहक प्रमुखको जिम्मेवारीमा छन् ।

उपभोक्ता/निर्माण कम्पनीसँग घुस लिएको शम्भुनाथ नगरपालिकाका प्रमुख जितेन्द्र प्रसाद गुप्ता र विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेशकुमार यादवमाथि आरोप छ । त्यस्तै, दोस्रो कार्यकालकालागि निर्वाचित बोदेबरसाईन नगरपालिकाका प्रमुख आतेशकुमार सिंह यादव भन्ने गत कार्यकालमै कामै नगरी रकम भुक्तानी दिएको अख्तियारले ठहर गर्दै मुद्दा दायर गरेको हो ।

हाल तीनै जनामाथि विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा विराधिन अवस्थामा छ । त्यस्तै, राजविराज नगरपालिकाका प्रमुख भीमराज यादवको भन्ने विशेष अदालतले दोषी ठहर नै गरिसकेको छ ।

आर्थिक वर्ष ०७३/०७४ मा राजविराजको रंगशाला स्तरोन्नतीको काममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले ठेकेदार कम्पनी न्यु गहिल कन्सट्रक्सनका तत्कालीन संचालक यादवउपर मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

उनका प्रतिस्पर्धी राजनीतिकर्मीहरु भन्ने राजिनामाको ताकमा छन् । उनले प्रमुखबाट राजिनामा दिए नगर प्रमुख पदको लागि उपनिर्वाचन हुनेछ । यद्यपी, विशेष अदालतले दोषी ठहर गरेपनि उनीसँग भन्ने सर्वोच्च अदालत जाने बाटो खुला नै रहेको छ ।

कार्यवाहकको भरमा स्थानीय तहहरु सञ्चालन हुँदा कामकाज प्रभावित हुँदै आएको जानकार बताउँछन् । ‘प्रमुख र उपप्रमुखको आ–आफ्नै जिम्मेवारी हुने गर्छन्’ जानकार भन्छन्, ‘तर, उपप्रमुखले प्रमुखको जिम्मेवारी सम्हालिरहँदा दुवै पदले पाउने जिम्मेवारीमा असर पर्दै आएको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस