छेदीलालको ट्रयाप : जालझेलमा पारेर लियो ३२ लाख, फिर्ता गर्न बहानाबाजी

राजविराज, १० असोज । मिटरब्याजी विरुद्ध संघर्ष समिति सप्तरीका सचिव छेदीलाल पासवानले ‘ट्रयाप’ मा पारेर घरविहीन बनाएको एक व्यक्तिले आरोप लगाएका छन् ।

सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका उसमान मियाले मंगलबार राजविराजमा सम्मेलनमार्फत सोबारे जानकारी गराएका हुन् ।

‘छेदीलालले ०७४ साल फागुन १० गते ईट्टा उद्योग सञ्चालन गर्ने र त्यसमा पार्टनरशिप दिन्छु भन्दै जालझेलमा पारेर जग्गा धिँतोमा राख्न लगाए, धिँतोभन्दा पनि साहु (रुपनी गाउँपालिका–१ बस्ने विनोद यादव) को नाममा पास गर्न लगाएर २७ लाख रुपैयाँ लिए’ उसमानले भने, ‘त्यसपछि थप ५ लाख रुपैयाँ गरी कुल ३२ लाख रुपैयाँ लिए तर त्यसको दुई महिना नवित्दै पार्टनरशिप पनि खोसे ।’

उसमान मिया (दाया)

पछि पैसा फिर्ता माग्दा बहानाबाजी गर्दै वर्षौ विताएको उसमानले पत्रकार सम्मेलनमा गुनासो गरे । ‘मैले साहुलाई १२ कठ्ठा जग्गा पास गरिदिएको छु, अहिले ब्याजसहित कुल ४२ लाख रुपैयाँ हुन जान्छ तर छेदीलालले तिर्न मानेको छैन्’ उनले भने, ‘पछिल्लो समय पैसा पचाउनका लागि साहु विनोदविरुद्ध मिटरब्याजीमा पनि निवेदन हाल्न उसैले लगायो र छलफलमा हिसाब हुँदा ४२ लाख रुपैयाँ हुन गएको देखिँदा पनि छेदीलालले तिर्न मानेको छैन् ।’

जग्गा फिर्ता हुन नसक्दा अहिले आफुलाई परिवारमा बस्न पनि समस्या हुँदै आएको उसमानले दुखेसो गरे । ‘अहिले घरविहीन जस्तै भइसकेको छु तर छेदीलालले मेरो पिडा बुझ्न चाह्दैनन्’ उनले भने, ‘भनौं पनि त के भनौं, उ जति बेला पनि सिडिओ अफिसमै हुन्छ । गुनासो गर्ने ठाउँ नपाएर पत्रकार गुहार्नु पर्यो, मलाई न्याय दिलाइदिनू’ उनले भने, ‘छलफलमा भएको सहमति अनुसार यही २८ गतेसम्म त्यो रकम तिर्नुपर्ने हो र मात्रै जग्गा फिर्ता पाउँछु, तर छेदीलालले पैसा फिर्ता नगर्ने मनस्थितिअनुसार मोबाइलमा पनि ब्लक गरिदिएको छ ।’

उसमानले रकम फिर्ता गराउनमा सहयोग गरिदिन हुन सबै पक्षमा आग्रह गरे ।

उता, छेदीलालले ती आरोपहरु निराधान रहेको प्रतिक्रिया दिए । ‘उसमानले ईट्टा उद्योगमा पैसा लगाएको थियो तर उद्योग नै डुब्यो’ उनले भने, ‘मसँग उसको पैसा बाँकी छैन् ।’

खडक नगरपालिका–७ कल्याणपुरकै छेदीलालले मिटरब्याजी विरुद्ध निवेदन दर्ता गराएका र मिटरब्याजीसँग मुद्दा मिलाइदिन्छु भन्दै लाखौं रकम असुली गर्दै आएको यसअघि नै ‘मधेशलाइभ’ले सार्वजनिक गरेको थियो भने पछिल्लो समय खडक नगरपालिका–३ का चितेन चौधरीसहितका दुई जनाले छेदीलालको असुली विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी समेत दिएका छन् ।

सो उजुरीको विषयमा छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस