छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

चार दिवसीय छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदैछ । छठ पर्वको पहिलो दिन शुक्रबार बर्तालुले नहाखाए अर्थात् नुहाएर मात्र चोखो बस्त्र धारण गरेर बिना प्याज, लसुनको अरबा चामल सेवन गरेका थिए । पहिलो दिन चतुर्थीलाई ‘अरबा–अरबाइन’ वा नहा खाय भनिन्छ । यो दिनमा बर्तालुले खोला, नाला, नदी, पोखरी र तलाउलगायतका जलाशयमा गई नुहाइधुवाइ गरेर शुद्ध भई चोखो खाना खाने गर्छन् ।

आज पञ्चमी तिथि (दोस्रो दिन) लाई ‘खरना’ (संरक्षण अर्थात् पापको क्षय) भनिन्छ । खरनाको दिन बर्तालु दिनभरि निर्जला बस्छन् र साँझपख नुहाएर चोखो भई आफ्नो कुलदेवता स्थापना गरेको पूजा कोठामा नयाँ चुलो स्थापना गरी प्रसाद बनाउने गरिन्छ ।

प्रसादका रुपमा विशेष गरी पाकेको केरा र खीर लिने चलन छ । आँगनमा गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर व्रतीले राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खीर) चढाई सोही प्रसाद ग्रहण गर्छन् । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।

षष्ठीका दिन (तेस्रो दिन) गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान–पिसान गरी त्यसबाट निस्केको पिठोबाट विभिन्न गुलियो खाद्य सामग्री तयार गरीन्छ । छठ पूजाकाे सामग्री तयार पार्दा विशेष चनाखो हुनुपर्छ । पूजाकाे सामग्री चोखो र शुद्ध हुनुपर्दछ, जुठो हुन गए अनिष्ट हुने जनविश्वास छ । यस दिन जलाशयमा पुगी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने गरिन्छ ।

पर्वको चौथो दिन (अन्तिम दिन) लाई पारन (पार्वण) भनिन्छ । यस दिन बिहान उषाकालमा व्रत लिने पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्‍याउँछन् र प्रातःकालीन सूर्यलाई अर्घ्य दिई पर्वको समापन गरिन्छ । अर्घ्य दिएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्छन् र सुनाउँछन् । यस पर्वमा यथासम्भव टुप्पोमा पात भएको चारवटा उखुलाई गाडेर त्यसभित्र पूजा गर्ने चलन छ ।

Author:



क्याटोगरी छान्‍नुहोस