सुरुङ्गामा जनप्रतिनिधि र कर्मचारीको सुविधामै सकियो दुई करोड ८७ लाख

राजविराज–जनताको सेवा–सुविधा र समृद्धिको लागि काम गर्ने प्रतिवद्धता जनाएका सप्तरीको सुरुङ्गा नगरपालिकाका जनप्रतिनिधिले सेवा–सुविधामै दुई करोड ८७ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको छ ।

प्राप्त विवरणअनुसार गत वर्ष जनप्रतिनिधिको सेवा–सुविधामा २ करोड ८७ लाख ५ हजार ७ सय ३४ रुपैयाँ खर्च भएको हो । जसअनुसार सुविधा र भत्ता शिर्षकमा मात्रै झण्डै दुई करोड रुपैयाँ सकिएको छ ।

नगरपालिकामा पदाधिकारीको अन्य सुविधातर्फ तीन वटा शिर्षकमा १ करोड ३५ लाख २५ हजार ६६ रुपैयाँ, पदाधिकारीको बैठक भत्तातर्फ दुई वटा शिर्षकमा ३४ लाख ५६ हजार, जनप्रतिनिधिको भ्रमणतर्फ दुई वटा शिर्षकमा ७ लाख ४७ हजार ३ सय ९५ रुपैयाँ, महँगी भत्तामा ११ लाख २ हजार २ सय ६६ रुपैयाँ, स्वास्थ्यकर्मीहरुको लागि फिल्ड भत्ता ४ लाख ९ हजार ६ सय रुपैयाँ र कर्मचारीको बैठक भत्ता ३ लाख ४३ हजार रुपैयाँ र अन्य भत्तामा १५ हजार रुपैयाँ गरी कुल १ करोड ९५ लाख ९८ हजार ३ सय २७ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, नगरपालिकामा इन्धन र मर्मतमै ९१ लाख ७ हजार ४ सय ७ खर्च गरेको छ । विवरणअनुसार इन्धनतर्फ कार्यालय प्रयोजनका लागि ३५ लाख १८ हजार ६ सय ३३ रुपैयाँ १५ पैसा, जनप्रतिनिधि (पदाधिकारी)ले ९ लाख ७५ हजार ५ सय ११ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, स्वास्थ्य शाखाले ५६ हजार २ सय ६७ रुपैयाँ, पशुपंक्षी विकास शाखाले २८ हजार ७ सय ८७ रुपैयाँ र कृषि विकास शाखाले १३ हजार ८ सय २८ रुपैयाँ गरी इन्धनमा कुल ४५ लाख ९३ हजार २६ रुपैयाँ खर्च गरेको छ ।

त्यस्तै, सवारी साधन मर्मत खर्चतर्फ दुई वटा शिर्षकमा गरी १८ लाख ५९ हजार २ सय ९९ रुपैयाँ र सवारी साधन खरिद २ लाख ५६ हजार ९ सय रुपैयाँ खर्च गरेको विवरणमा उल्लेख छ । त्यस्तै, मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्चतर्फ दुई वटा शिर्षकमा १५ लाख ९५ हजार २ सय २० रुपैयाँ, फर्निचर तथा दराज मर्मत सम्भारमा दुई वटा शिर्षकमा ६ लाख ४९ हजार ७ सय ५५ रुपैयाँ, निर्मित सार्वजनिक सम्पतिको मर्मत सम्भारमा ५३ हजार ९ सय ३४ रुपैयाँ र अन्य सम्पतिको मर्मत सम्भार तथा सञ्चालनमा ९९ हजार २ सय ७३ रुपैयाँ खर्च गरी कुल २३ लाख ९८ हजार १ सय ८२ रुपैयाँको विवरणमा उल्लेख रहेको छ ।

नगर प्रमुख गिता चौधरीले गाडी अलिबढी प्रयोग भएर इन्धन त्यति साह्रो खर्च भएको हुनसक्ने बताइन । ‘मिसयुजै त भएको छैन्, यसअघि पाँच वर्षमा ६० हजार किलोमिटर गाडी गुडेको थियो । म जितेपछि डेढ वर्षमै ४० हजार किलोमिटर गुडिसक्यो तर काहीँ पनि मिसयुज भएको छैन् । राजमार्गमै पालिका रहेकोले पनि कहिलेकाहीँ बाहिरका मान्छे पनि माग्न आइपुग्छन्, त्यसैले पनि अलिक धेरै खपत भएको होला’ उनले भनिन्, ‘भत्ता त हामी ३ पटक मात्रै बुझ्छौं, अरु के रैंछ म प्रमुख प्रशासकीय अधिकृतसँग बुझ्छु । कहाँ, कसलाई के गरेको रैंछ ।’

उक्त विषयमा प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र नाथ शर्मासँग बुझ्न खोज्दा सम्पर्क भएन । आजको नेपाल समाचारपत्रमा विद्यानन्द रामले लेखेको खबर छ ।

Author:



क्याटोगरी छान्‍नुहोस