‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु गरियोस्’

राजविराज–रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्य अविलम्ब सुरु हुनुपर्ने माग राखेर आन्दोलित सप्तरी युथ नेपाल आवद्ध युवाहरुले सोमबार राजविराजमा प्रदर्शन गरेका छन् ।

जिल्लाको राजविराज नगरपालिका–१० बिरौलस्थित शिलान्यासपछि अलपत्र अवस्थामा पुगेको उक्त प्रतिष्ठान अविलम्ब निर्माण हुनुपर्ने माग राखेर उनीहरु आइतवारदेखि नै आन्दोलन सुरु गरेका हुन् ।

एक हप्ते आन्दोलनका कार्यक्रमअनुसार पहिलो दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीका लागि ज्ञापनपत्र बुझाएका युवाहरुले दोस्रो दिन र्याली निकालेका छन् । बजारको परिक्रमा पश्चात आयोजना गरिएको सभाका वक्ताहरुले निर्माण कार्य सुचारु नभएसम्म आन्दोलन जारी नै रहने अडान दोहोर्याए ।

उनीहरुले पहिलो चरण तहतको आन्दोलनले सुनुवाई नभए दोस्रो चरणमा थप सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिए । संयोजक यादवकै अध्यक्षतामा सोमबार आयोजना गरिएको सभामा रामकुमार दास, अखिलेश झा, मुस्तकिम आलम, सुरज यादव, सत्येन्द्र यादव, बसन्त यादव लगायतका युवाहरुले मनतव्य राखेका थिए  ।

पहिलो चरणको आन्दोलनअनुसार १२ गते मंगलबार सिटी जुलुस प्रदर्शन, १३ गते बुधबार दिउँसो टर्च बालेर नेता तथा सांसदको खोजी गर्ने, १४ गते बिहीबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा एक घण्टा धर्ना दिने र १५ गते शुक्रबार जिल्ला प्रशासन कार्यालयको मूल गेटमा दुई घण्टा धर्ना दिने कार्यक्रम रहेको सप्तरी युथका कार्यबाहक अध्यक्ष मोहन यादवले जानकारी दिए ।

उनका अनुसार आन्दोलनका निम्ति गत शनिबार बसेको युथको बैठकले सत्येन्द्र यादवको संयोजकत्वमा आन्दोलन परिचालन समिति समेत गठन गरिएको छ । उनले उक्त आन्दोलनमा साथ र सहयोग गर्न जिल्लाका राजनीतिज्ञ, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, अधिकारकर्मी, सञ्चारकर्मीसहितका सबै पक्षमा आग्रह समेत गरे ।

२०७५ सालमा नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेपछि २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरिसक्दा समेत हालसम्म डिपिआर बाहेक अन्य कुनै काम अघि बढ्न सकेको छैन् ।

Author:



क्याटोगरी छान्‍नुहोस