मारियो मृग, समातियो शिकारी 

राजविराज – सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १३ स्थित गोबरगाढा पलारमा शिकारीको एक समूहले गए राति संरक्षित जनावर मृग (हरिण) मारेको पाइएको छ ।

मृग मारेको सूचनाको आधारमा खटिएका प्रहरी टोलीले आज विहान वडा नम्बर ८ योगिनियाँस्थित कोशी पलारबाट राजविराज नगरपालिका– ५ का ४६ वर्षीय डा. शैलेसकुमार झालाई उक्त मृत मृगको मासु र हतियारसहित पक्राउ गरेपछि सो घटना सार्वजनिक भएको हो ।

श्रोतका अनुसार वडा नम्बर १३ गोबरगाढा पलारमा शिकारीको समुहले दुई वटा मृग मारेको हो । मारिएको दुई वटा मृगमध्ये एउटा गोबरगाढा पलारमै राखिएको र अर्को मृगको मासु लिएर डा. झा ट्रयाक्टरमा आउँदै गरेको अवस्थाबाट पाँच जनासहित पक्राउ परेका थिए । तर प्रहरीलाई सूचना दिने स्थानीय एक जना नेताको भनसुनका आधारमा ती चार जना र ट्रयाक्टरलाई छाडिदिएको तथ्यले प्रहरी अनुसन्धान पनि शंका घेरामा पुगेको छ ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धी बज्राचार्यका अनुसार पक्राउ परेका झाको साथबाट दुईवटा बोरामा मृगको ३५ केजी मासु, दुईवटा म्याग्जिनमा ६ राउण्ड गोली लाउड भएको दुई नाले राईफल बन्दुक, थप ३५ राउण्ड गोली बरामद भएको छ । यसका अलावा रातिको समयमा अँध्यारो छल्न प्रयोग गरिने थर्मनल क्यामेरासमेत बरामद भएको छ ।

मृगको मासु र हतियासहित पक्राउ परेका झालाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुसन्धान पूरा गरि आवश्यक कारबाहीकोलागि वन डिभिजन सप्तरीको जिम्मा लगाएको जानकारी प्रहरी उपरीक्षक बज्राचार्यले जानकारी दिए । ‘पक्राउ परेका झासँग बन्दुक र गोलीको इजाजत पत्र भएपनि संरक्षित जनावर मृग मार्ने काम गैरकानूनी भएकोले आवश्यक अनुसन्धान पूरा गरेर कारबाहीकोलागि वन डिभिजनको जिम्मा लगाईएको हो’, प्रहरी उपरीक्षक बज्राचार्यले भने ।

पछिल्लो केही समयदेखि गोबरगाढा पलारमा जंगली बँदेल र मृगको लगातार चोरी शिकारी भईरहेको छ । उक्त शिकारीको समूहमा स्थानीय केही शिकारीसँगै नेपाल प्रहरीका एक जना अवकाशप्राप्त डीआईजीकोसमेत संलग्नता रहेको छ ।

स्थानीय श्रोतका अनुसार शिकार गरिने बँदेल र मृगको मासु हनुमाननगर कंकालिनी नगरपालिकास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीसमक्ष पुग्ने गरेका छन् भने जिल्लास्थित केही राजनीतिक दलका नेता र गणमान्य ब्यक्तिसमक्षसमेत पुग्ने गरेको छ । यतिमात्रै नभई जनकपुर र काठमाण्डौसम्मसमेत बँदेल र मृगको मासु पुर्याउने काम भईरहेको छ ।

यता संगठितरुपमा हुँदै आएको जनावरको तस्करी नियन्त्रण गर्न आफुहरु सक्रिय रहेको सप्तरीका प्रहरी उपरीक्षक बज्राचार्यको दाबी छ । वन डिभिजन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले जनावरको शिकारी नियन्त्रण र संलग्नहरुमाथिको कानूनी कारबाहीमा कुनै किसिमिको कमजोरी हुन नदिने दाबी गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस