बलान नदी बन्यो कमाई खाने भाँडो : एउटै ठाउँमा वर्षेनी काम, ५४ लाख बढी झ्वाम !

राजविराज, १८ फागुन । जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय सप्तरीले बलान नदी नियन्त्रणको नाममा एउटै ठाउँमा वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको पाइएको छ ।

जिल्लाको बलान बिहुल गाउँपालिका–१ मल्हनियाँस्थित नदी नियन्त्रणको नाममा दुई वर्षयता ५४ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको पाइएको हो । यद्यपी, गत वर्ष पनि काम भइरहेकै बेला सो ठाउँमा बाँध भत्किएको थियो ।

गत वर्ष मात्रै कार्यालयले नदी नियन्त्रण गर्न सो ठाउँमा उपभोक्ता समितिमार्फत २३ लाख ४९ हजार ३ सय ४५ रुपैयाँ खर्च गरेको थियो । कार्यालयले सोही गाउँपालिका वडा नम्वर १ बस्ने महेशकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) लाई सो ठाउँमा नदी नियन्त्रणको काम गराउने जिम्मेवारी दिएको थियो ।

कार्यालयले महेशमार्फत सो ठाउँमा काम गराएको पहिलो पटक भने होइन । त्यसअघि पनि आर्थिक वर्ष ०७८–०७९ मा सो ठाउँमा नदी नियन्त्रणको नाममा १० लाख ७ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ । सो काम पनि महेशले नै गरेको कार्यालयको तथ्यांकले देखाउँछ ।

त्यति मात्रै होइन् । सोही वर्ष कार्यालयले महेशका आफ्नै दाजु कृष्णकुमार यादव (उपभोक्ता समितिका अध्यक्ष) मार्फत सोही ठाउँमा २१ लाखभन्दा बढी रुपैयाँ खर्च गरेको छ । कृष्णमार्फत पनि सोही ठाउँमा २१ लाख २ हजार ९ सय ३९ रुपैयाँ गरी दुई वर्षयता नदी नियन्त्रणको नाममा कुल ५४ लाख ५९ हजार ६ सय ५४ रुपैयाँ खर्च गरिएपनि काम भने बजेट सिध्याउनैका लागि मात्रै हुने गरेको स्थानीयहरु बताउँछन् ।

‘सात वर्षअघि नै यहाँ बाँध बनाईयो, त्यसपछि केही काम भएको छैन्’ स्थानीय रोहित पासवानले भने, ‘दुई वर्षयता बाढीको बेला २०–२५ वटा बोरामा वालुवा होलेर थामथुमको प्रयास गर्ने गरेको देखिन्छ तर उपलब्ध शून्य छ, अहिले पनि नदी उस्तै छ । ५४ लाखको काम भएको विषय तपाईकै मुखबाट सुने, खैं केमा खर्च गर्यो ।’

वडा अध्यक्ष रामकुमार यादवले काम भएको विषयमा आफुलाई कुनै जानकारी नरहेको बताए । ‘काम गराउने भएपछि वडाबाट पनि सिफारिस लिने चलन रहेको छ तर वडालाई कुनै जानकारी गराइएको छैन् भने सिफारिस पनि लिएको छैन्’ उनले भने, ‘कुन हिसावले काम गर्यो त्यो मलाई थाहा भएन, बाँध अहिले पनि भत्किएकै अवस्थामा छ ।’

महेशले बाढी आएको बेला आपत्तकालिन काम गरेको बताए । ‘नदी नियन्त्रणको काम गरेको छु’, उनले भने ।

डिभिजन प्रमुख रमणकुमार साहले बाढी आएको बेला आपत्तकालिन काममा सो रकम खर्च भएको बताए । ‘त्यो हिटिङ पोइन्ट हो, त्यहाँ काम भएको छ तर यस वर्षदेखि वारम्वार एउटै ठाउँमा काम गर्नेलाई काम दिइने छैन्’ उनले भने, ‘यस वर्ष त्यहाँ काम भयो भने बोल्डर–जाली हालेर काम हुन्छ, अन्यथा हुँदैन् ।’

उता, गत वर्ष वडा नम्वर ४ वेल्हीस्थित बलान नदीमै २ करोड ७६ लाख २२ हजार ६ सय ७३ रुपैयाँ खर्चेर भएको बाँध र स्पर निर्माणमा अनियमितताको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस