बालुवा–गिट्टी त’स्करी प्रकरण : इन्सपेक्टर गिरी र असई यादव तानिए 

राजविराज, २० जेठ–प्रहरीकै ‘सेटिङ’ मा बलान नदीको बाटो प्रयोग गरेर बालुवा–गिट्टी तस्करी भइरहेको खुलेपछि इन्सपेक्टर र असई गरी दुई जनालाई कारबाही गरिएको छ ।

सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीस्थित नदी किनारमै उत्खनन् तथा आयात गरेर थुपारिएका बालुवा–गिट्टी दिनदहाडै नदीको बाटो प्रयोग गरेर दैनिक ७०–७५ ट्रली बालुवा–गिट्टी भारततर्फ पुर्याइने गरेको विषयमा ‘मधेशलाइभ’ले सामाचार सार्वजनिक गरेको थियो ।

समाचार बाहिरिएसँगै बिओपी बेल्हीका इन्सपेक्टर हरेकृष्ण गिरीलाई सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वाटर तानिएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर ६ गण हेडक्वाटर सप्तरीका प्रमुख प्रहरी उपरीक्षक धनबहादुर सिंहले इन्सपेक्टर गिरी तानिएको पुष्टि गरे ।

के–कारणले तानिएको भन्ने प्रश्नमा उनले भने, ‘गल्ती गरेको होला अनि तानिए ।’

इन्सपेक्टर गिरी बिओपी बेल्ही पुगेको दुई महिना मात्र पुगेको थियो ।

त्यस्तै, प्रहरी चौकी बेल्हीका असई हरेन्द्र यादवलाई पनि जिल्ला प्रहरी कार्यालय तानिएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ढुण्डिराज नेउपानेले असई यादवलाई तानिएको बताए । यद्यपी, बालुवा–गिट्टीको विषयले असई यादवलाई तानिएको कुरा प्रहरी नायव उपरीक्षक नेउपानेले अस्वीकार गरे ।

‘असई यादव तानिएको निकै भयो त’ बालुवा–गिट्टीको विषयले हो नि भन्ने प्रश्नमा उनले भने, ‘होइन, आन्तरिक अदलीबदली हो, बालुवा गिट्टीको विषयले होइन् ।’ असई यादवको पनि बेल्हीमा अढाई महिना मात्र भएको थियो ।

स्थानीयहरुका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलेमतोमा तस्करी हुँदै आएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस