कुख्यात मिटरब्याजी प्रकरण : अजय भगतको नाममा पनि ५१ ठाउँमा जग्गा 

राजविराज–ऋणीको जग्गा हडप्ने धन्दा फैलाएको भगत परिवारका अर्का सदस्यको नाममा पनि ५१ ठाउँमा जग्गा रहेको पाइएको छ ।

ठगी तथा आपराधिक विश्वासघात गरेको मुद्दामा मिटरब्याजी परमानन्द भगत पक्राउ परेपछि भगत परिवारले फैलाएको जग्गा हडप्ने धन्दाबारे खुल्न आएको थियो । कुख्यात मिटरब्याजी भगत परिवारले फैलाएको जग्गा हडप्ने धन्दाका कारण पीडित भएको भन्दै ऋणीहरुले गुनासो गरिरहदा भगत परिवारका अर्का सदस्य अजयकुमार भगतको नाममा मात्रै ५१ ठाउँमा ५ विघाभन्दा बढी जग्गा रहेको पाइएको छ ।

‘मधेशलाइभ’लाई प्राप्त प्रमाणअनुसार जिल्लाको बोदे बरसाइन नगरपालिका–७ बस्ने अजयको नाममा जिल्लाका विभिन्न ठाउँमा गरी ५ विघा ५ कठ्ठा साढे १२ धुर रहेको छ ।

जिल्लाको तत्कालिन सारस्वर, खोजपुर, बोदेबरसाइन, कुशहा, इनर्वा फुलबरिया, मानराजा, पत्थरगाढा, कल्याणपुर, कविलासा, नेगङ्गा, देउरी, भंगहा, देउरी भरुवा र मैनासहश्रवाहु गाविसमा उनको नाममा रहेका ती जग्गामध्ये अधिकांश जग्गा २०७३ सालयता खरिद गरेको देखिन्छ ।

अजय परमानन्द भगतका आफ्नै भन्जा हुन् । परमानन्दका आफ्नै भतिज रामचन्द्र भगतको नाममा ६३ ठाउँमा गरी ७ विघा ११ कठ्ठाभन्दा बढी जग्गा रहेको छ ।

तीमध्ये ०७६ साउन २० गते यता मात्रै विभिन्न व्यक्तिहरुबाट २६ ठाउँका ३ विघा २ कठ्ठा जग्गा बोदे बरसाईन नगरपालिका–५ बस्ने रामचन्द्रको नाममा आएको छ भने अन्य जग्गा त्यसअघि नै उनको नाममा आएको छ । उनको नाममा मोरङ्गको विराटनगर, सप्तरीको बोदे बरसाईन, बेल्ही चपेना, इनर्वा फुलबरिया, बनौली, फुलकाही, भंगहा, खोजपुर, मानराजा, नेंगडा, खडकपुर, कल्याणपुर र मैनासहश्रवाहुको जग्गा गरी कुल ७ विघा ११ कठ्ठा साढे २ धुर जग्गा रहेको छ ।

यसअघि ठगी तथा आपराधिक विश्वासघातमा उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि रामचन्द्रका काका परमानन्द पक्राउ परेका थिए । उक्त मुद्दा उच्च सरकारी वकिल कार्यालयले माथिल्लो निकायमा पठाइएको छ भने परमानन्दलाई हाजिरी जमानतमा रिहा गरिएको ईलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ ।

मामा (परमानन्द)ले नै मेरो नाममा जग्गा राख्छन् : अजयकुमार 

अजयले आफु थोरथार मात्रै ब्याजको कारोबार गर्ने गरेको बताए । ‘मामा (परमानन्द)ले नै ब्याजको कारोबार गर्नुहुन्छ र उहाँले नै मेरो नाममा जग्गा राख्नुभएको छ’ उनले मधेशलाइभसँग भने, ‘मेरो नाममा के–कति जग्गा छ भन्ने मलाई जानकारी पनि छैन्, मामालाई नै जानकारी छ र लालपूर्जा पनि उहाँसँगै छ ।’

यो पनिः

कुख्यात मिटरब्याजी प्रकरण : रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा जग्गा !

कुख्यात मिटरब्याजी भगत परिवारको जालो–नियत नै ऋणीको जग्गा हडप्ने

मिटरब्याजीको आरोपमा भगत पक्राउ

Author:



क्याटोगरी छान्‍नुहोस