‘अझैं राजतन्त्रको अस्तित्व देखिनु शासकहरुको नालायकीपना’

रोशन जनकपुरी
गणतन्त्रको पक्षमा लाखौँ सडकमा उत्रिए भने ठूलो कुरा भएन । व्यवस्था नै गणतन्त्र हो ।

गणतन्त्रको स्थापनाको अठार वर्ष पछिपनि राजनीतिकरुपमा राजतन्त्रको अस्तित्व देखिनु, शासकहरूको नालायकीपना हो । यो लोकतन्त्रको सौन्दर्य होइन, विरुपता हो। यो तिम्रै कारण हो शासकहरू!

तिमीले शहिद बिर्स्यौ, जनता बिर्स्यौ, जनताप्रतिको दायित्व बिर्स्यौ र गणतन्त्रको जनवादी ओज बिर्स्यौ। हजारौँ जनताको शहादत र अथक जनसंघर्ष पछि आएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालाई धोका भन्ने छुट लोकतन्त्रले कसरी दिन सक्छ ? तर त्यही भै रहेको छ। गणतन्त्र स्थापनाको अठारौँ वर्षमा पनि राजतन्त्रकाे अवशेष वर्ग गणतन्त्र विरुद्ध नारा फलाक्दै छ र राजतन्त्रको गुणगान गर्दैछ । यो तिम्रो नालायकीपना हो, ओ गणतन्त्र का शासकहरू !
अचम्म छ, गणतन्त्रको संसदले कसरी सहेको छ आफ्नै विरुद्धको अस्तित्व? आफ्नै घाँटी छिनाल्नेलाई मौका दिएर लोकतन्त्रको सौन्दर्यको पागल राग न अलाप । कुनै बेलाका सुक्न लागेका जराहरू केही झांगिएको छ। यिनलाई छिटै उखेल, जसरी भएपनि।

मलाई छुट्टै देश बनाउने छुट दिन्छौ? यदि यो असम्वैधानिक हो भने गणतन्त्रको सम्विधानमा राजतन्त्र कसरी सम्वैधानिक हुन सक्छ? यो तिम्रो कमजोरी र अयोग्यता मात्र हो, शासकहरू !

ज्ञानेन्द्र शाह र उसका भारदारहरु सडकमा गणतान्त्रिक सम्बिधानको खिल्ली उडाउँदै छन्, तिम्रो नालायकीपना, अयोग्यता र बेइमानीको दोष गणतन्त्र र सङ्घीयताको टाउकोमा थोपर्दै छन् । र, तिमी तमासे बनेका छौ । यो जनताको शहादत, जनसंघर्ष, गणतन्त्र, संघीयता र लोकतन्त्रको अपमान हो। गणतन्त्र र जनताको शासनको गर्वबोध गर, र यो भूतको खेल अन्तिम पटक बन्द गर ।
अहिले देशको नीति समाजवादी हो भन्ने दावी गर्नेहरुलाई पनि यो राम्रो पाठ हो । राजतन्त्रवादीहरु सडकमा हुनुले जनवादका अधिकांश कार्यभार अझै बाँकी छ, भन्ने तथ्य एकपटक फेरी साबित भएको छ ।

गणतन्त्रको अपुरो कार्यभार पूरा गरौँ ! समाजवादी लक्ष्यतिर निर्देशित जनगणतन्त्रको कार्यदिशा अँगालौँ । गणतन्त्रवादी शक्तिहरु एकजुट होउँ ! महान शहीदहरु लाल सलाम !

लेखक जनकपुरी प्रसिद्ध राजनीतिक विष्लेशक हुन् । सं.

Author:



क्याटोगरी छान्‍नुहोस