हिंसात्मक गतिविधि बन्द गर्न आयोगको आग्रह

काठमाडौं, १५ चैत । राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनरत पक्षहरूलाई हिंसात्मक गतिविधि बन्द गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा आन्दोलनकारीहरूलाई आफ्ना प्रदर्शन र कार्यक्रम शान्तिपूर्ण बनाउन आग्रह गरिएको छ।

प्रवक्ताका अनुसार, “कुनै पनि बहानामा हिंसात्मक गतिविधि वा अरूको अधिकार हनन स्वीकार्य छैन। सरकार यस्ता कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन पहल गरोस्।”

उनले भने, “समाजवादी मोर्चा र राजतन्त्र समर्थक राजनीतिक दलहरूद्वारा आज उपत्यकामा आयोजित प्रदर्शन र आमसभाको अनुगमन आयोगद्वारा चार उच्चस्तरीय टोलीमार्फत गरिएको थियो। तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेको पुष्टि भएको छ।”

अनुगमनका क्रममा पाइएको अनुसार, प्रदर्शनकारीहरू तीनकुनेबाट प्रहरी घेरा तोड्दै निषेधित क्षेत्र नयाँ बानेश्वरतर्फ जान खोजे, जसका कारण प्रहरी र आन्दोलनकारीहरूबीच झडप भयो। प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्नुका साथै घर, कलेज तथा विभिन्न संस्थाहरूमा आगजनीसमेत गरेका छन्।

आयोगका अनुसार, “तीनकुने क्षेत्रमा सञ्चारमाध्यमका भवन, कलेज र निजी घरहरूमा आगजनी गरिएको छ। आगो निभाउन गएका दमकल तथा सशस्त्र प्रहरीका गाडीमाथि समेत आक्रमण भएको छ।”

आयोगका प्रवक्ता डा. पोखरेलका अनुसार, “कोटेश्वर क्षेत्रमा अनुगमन गर्दै गरेको आयोगको टोलीमाथि समेत आक्रमण भयो र कर्मचारीहरू घाइते भए।”

प्रवक्ताका अनुसार, “भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा, अश्रुग्यास र हवाइ फायरिङ गरेको थियो। केही निजी आवासको प्रयोग गरेर पनि अश्रुग्यास प्रहार गरिएको देखिएको छ।”

आयोगले स्पष्ट गरेको छ, “शान्तिपूर्ण विरोध प्रदर्शन मानव अधिकारको हिस्सा हो, तर आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारमाथि हस्तक्षेप गर्नु मानव अधिकारका मूल्य मान्यता विपरीत हुन्छ।”

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780