सिरहा, चैत १६: सिरहा जिल्लाको औरही गाउँपालिका–५ मा महायज्ञको नाममा दलितको घरमा डोजर चलाइएको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडा अध्यक्ष दिलीप कुमार यादव शुक्रबार धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत सिरहाका न्यायाधीश विदुर काफ्लेको इजलासले जनही एक लाख रुपैयाँ धरौटीमा तारेखमा राख्न आदेश दिएको हो।
स्रेस्तेदार नीरज पोखरेलका अनुसार जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो, जसको सुनुवाइ शुक्रबार थुनछेक बहसका रूपमा गरिएको थियो। अदालतले वैशाख १९ गते पुनः उपस्थित हुन आदेश दिएको छ।
चैत १७ गतेदेखि महायज्ञ सुरु गरिने नाममा औरही–५ निवासी दलित दीपक मलिक (डोम) को घर फागुन १० गते भत्काइएको थियो। महायज्ञ आयोजक समितिका अध्यक्ष तथा जसपाका जिल्ला सदस्य शिवजी यादव र समितिका सचिव दिलीप कुमार यादवलाई चैत ८ गते पक्राउ गरिएको थियो।
दलित परिवारको घर भत्काउन आदेश दिने महायज्ञका मूल पूजारी बजरंगी बाबा भने घटना सार्वजनिक भएपछि फरार भएका छन्।