काठमाडौं, ३ वैशाख – सरकारले आन्दोलनरत शिक्षकहरूलाई आफ्नो कार्यक्षेत्रमा फर्कन आग्रह गरेको छ। विद्यार्थी भर्ना, एसईई उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को राष्ट्रिय परीक्षा सञ्चालन भइरहेका बेला आन्दोलन स्थगन गरी शिक्षण कार्यमा फर्कन अनुरोध गरिएको हो।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक पारित गर्ने प्रक्रियालाई अघि बढाउने प्रतिबद्धता जनाउँदै शिक्षकहरूको मागप्रति सरकार गम्भीर रहेको जनाएको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेका आन्दोलनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउँदै संघीय संसद्को अधिवेशन वैशाख १२ गते आह्वान गरिएको जानकारी दिइन्।
उनले शिक्षकहरूले उठाएका मागहरूप्रति सरकार संवेदनशील रहेको र संवाद प्रक्रियालाई निरन्तरता दिइएको पनि बताइन्।
सरकारले हाल विद्यार्थीहरूको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले शिक्षकहरूलाई यथाशक्य चाँडो कक्षाकोठामा फर्किन अनुरोध गरेको छ।